एउटा तथ्यांकबाट कुरा शुरू गरौँ । अस्ट्रेलियाको शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०२५ को जुलाईसम्ममा विभिन्न शैक्षिक संस्थामा भर्ना हुने विदेशी विद्यार्थीको संख्या नौ लाख २६ हजारको हाराहारीमा पुगेको छ ।
त्यसको ठीक एक वर्षअघि त्यो भन्दा पनि १० हजार बढी अथवा नौ लाख ३६ हजार र दुई वर्षअघि आठ लाख २३ हजार विदेशी विद्यार्थी अस्ट्रेलिया प्रवेश गरे ।
विदेशीमध्ये चीनका २३, भारतका १७, नेपालका आठ, भियतनाम र फिलिपिन्सका जनही चार प्रतिशतका दरमा विद्यार्थी भित्रिएका थिए ।
यहाँको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२३ सम्ममा अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति पाउने नेपालीको संख्या एक लाख ७९ हजार थियो ।
त्यस्तै यहाँकै तथ्यांक विभागले सन् २०२४ मा जारी गरेको प्रतिवेदन अनुसार यस मुलुकमा स्थायी बसोबासको अनुमति पाउनेमध्ये नेपालीको अनुपात प्रतिशत सबैभन्दा बढी छ । विभागले एक दशकको तथ्यांक विश्लेषण गरेर उक्त जानकारी सार्वजनिक गरेको हो ।
विभागका अनुसार सन् २०२४ मा यस मुलुकको जनसंख्या दुई करोड ७२ लाख थियो । यसमध्ये ६८.५ प्रतिशत यसै मुलुकमा जन्मेका र ३१.५ प्रतिशत विदेशमा जन्मेर यहाँ बसाइँ सरेर बसेकाहरु छन् ।
विभागको तथ्यांकमा नेपालीको संख्या भने कूल जनसंख्याको ०.७ प्रतिशत छ । यस तथ्यांकलाई विश्लेषण गर्दा गत वर्ष नेपालीको जनसंख्या एक लाख ९० हजार थियो भने पीआर पाउनेको अनुपात हेर्दा एक वर्षमा १० हजार नेपाली थप भएको अनुमान छ ।
यससहित यस वर्षसम्ममा यहाँ स्थायी बसोबास गर्ने नेपाली भाषीको संख्या लगभग दुई लाख पुगेको अनुमान छ ।
सरकारी समाचारपत्र द राइजिङ नेपालका अनुसार सन् २०२४—०२५ को १० महिनामा विदेशबाट नेपालमा १३५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
सन् २०२१ मा अस्ट्रेलियाबाट नेपालमा ४६ करोड ६६ हजार अमेरिकी डलर नेपाल पठाइएको थियो । नेपालको रेमिट्यान्सको अनुपात हेर्दा सन् २०२५मा अस्ट्रेलियाबाट ८० करोड देखि ८५ करोड अमेरिकी डलर अथवा आजको मुद्रामा एक सय १५ अर्ब नेपाली रुपैयाँ नेपाल भित्रिएको अनुमान छ ।
वर्षमा करिब ३० जना नेपाली कर्मचारी छात्रवृत्तिमा अस्ट्रेलियाबाट अध्ययन गरेर स्वदेश फर्किने गरेको तथ्यांक छ । यसैगरी राष्ट्रसंघीय विकास कोषका अनुसार पछिल्लो एक दशकमा सात पटक नेपाली विधायकहरुको टोलीले अस्ट्रेलियाको संसद तथा विभिन्न राज्यको भ्रमण गरेको छ ।
हरेक वर्ष करिब दुई लाख नेपाली आमाबुबा तथा आफन्तहरु छोटो भिसामा अस्ट्रेलिया भ्रमण गर्छन् । वर्षमा ३०–४० जना कर्मचारी छात्रवृत्तिमा पढेर फर्किन्छन् । हरेक वर्ष १०–१२ जना विधायकहरु अस्ट्रेलिया अवलोकन भ्रमण गर्छन् ।
यति हुँदा पनि नेपालमा सुधार गर्ने हजारौँ विषयमा न कर्मचारी चाँसो राख्छन् । न त नेता नै । देशको ढुकुटी वा विदेशीले नेपालका लागि उपलब्ध गराएको सहयोग खर्च गरेर भ्रमण गर्छन् । रमाइलो गर्छन् ।
यता छोराछोरी तथा आफन्त भेट्न आएकाले अस्ट्रेलियाको विकास देख्छन् । छोराछोरीले विदेशमा गरेको दुःख देख्छन् । सांसद तथा कर्मचारी घुमेका कुरा देख्छन् ।
उता देशमा सुधारको कुनै संकेत देख्दैनन् । वाक्क हुन्छन् । दिक्क लाग्छ । यसैबेला नेताका भाषण सुन्छन् – सररर रेल, पानी जहाज, सहरमा मोनोरेल, कम्प्युटरमा बसेर महिनाको दुई चार लाख कमाइ आदि ।
नेताहरुको बोली– हाम्रा बुँताले तिमीहरुले बोल्न पाइएका छौ । लेख्न पाएका छौ । के खोज्छौ ? यतिका विकास नदेख्नेहरु तिम्रा आँखा खोइ ? विवेक खोइ ? अरुले हेलिकप्टर चढ्यो भनेर धुरी चढ्ने ? यस्ता प्रश्न गर्छन्, मानौँ उनीहरु राणाकालीन शासक हुन्, जसले जनतालाई सामान्य मानवीय व्यवहार पनि गर्न जान्दैनन् ।
एउटा गाउँको मानिस आएर विदेशको विकास देखेपछि देशतिर फर्केर तुलना गर्छ । अन्यायमा बाँचेकाहरु देख्छ । विभिन्न बहानामा आफन्त गुमाएकाहरुको पीडा महसुस गर्छ । उसलाई देशका कर्मचारी तथा नेता सबै हावादारी लाग्छन् । अनि उसले सरकारलाई समर्थन गर्न सक्छ ?
यहाँबाट सिकेर गएका कर्मचारी तथा नेताले कुनै न कुनै सुधारका संकेत दिनुपर्ने होइन र ? कमसेकम हामी यसरी भ्रमणमा गयौँ । त्यहाँ यस्तो रहेछ, हामी पनि देशमा यो सुधार गर्न चाहन्छौँ । यस वर्ष यति गर्छौँ । अर्को वर्ष यति गर्छौं । यस्ता कुरा गरेर जनताको मन जित्नुको साटो धम्की दिन्छन् ।
एउटा चाख लाग्दो उदाहरण हेरौँ ।
हाम्रो देशमा सवारी साधनका नम्बर प्लेट नानाथरिका छन् । कुनै सरकारी । कुनै अर्धसरकारी । निजी । भाडाका सवारी । हुँदाहुँदा एम्बोस्ड नम्बर आदि । बितेका दुई चार वर्षयता सवारी चालक अनुमति पत्रसमेत सरकारले दिन सकेको छैन ।
यताको एउटा नम्बर प्लेट हेरौं त ।
यो तस्बिरमा देखाइएको नम्बर प्लेट हेरौं त । यो नामबाट नै जानकारी हुन्छ, यो नेपाली नाम हो । केदार पी अथवा केदार प्रसाद । छोरानाति भेट्न अस्ट्रेलिया आएका एक नेपाली बुबा केदारप्रसाद ढकालले नेपाली नामको नम्बर प्लेट देखेर आश्चर्य माने ।
केदारले छोरालाई सोधे, व्यक्तिगत नाममा पनि गाडीको नम्बर प्लेट राख्न मिल्छ ? छोराले जवाफ दिए, मिल्छ ।
केदारका छोरा प्रकाश हाल न्युसाउथ वेल्स राज्यस्थित सेन्ट्रलकोस्ट नगरपालिकाको गसफोर्डमा बसोबास गर्छन् । उनले यो नम्बर प्लेट पश्चिम अस्ट्रेलियामा लिएका हुन् ।
कालान्तरमा प्रकाशका बुबाको निधन भयो । प्रकाशले आफ्ना बुबाको स्मृतिमा गाडीको नम्बर प्लेट नै केदार पी राखिदिए ।
भ्रम नपरोस् भन्नका लागि तस्बिर गाडीको अगाडि र पछाडि दुवै तर्फको तस्बिर राखिएको छ । हेरौं त ।
यस गाडीको रेकर्ड सम्बन्धित सरकारी कार्यालयले पक्कै राखेकै होला ।
अस्ट्रेलियामा गाडीमा नम्बरको सट्टा व्यक्तिको नाम राख्दा हुने, नेपालमा नहुने हुन्छ ?
लाइसेन्स र ब्लुबुकमा व्यक्तिको नाम हुने अनि गाडीमा चाहिँ अर्कै नम्बर किन चाहियो ?
यो एउटा सामान्य उदाहण मात्र हो ।
यस्ता हजारौँ उदाहरण छन्, जो हाम्रा नेता तथा कर्मचारीले यहाँबाट सिकेर नेपालमा लागू गर्न सक्छन् । अरु देशका यस्ता अनगिन्ती उदाहरण होलान् ।
गाडीमा व्यक्तिकै नाम राख्ने कुरामात्र होइन, यस्ता हजारौं काम गर्न सकिन्छ । तर नेता गर्दैनन् । जनतालाई हेप्छन् । यिनीहरु केही जान्दैनन् भन्ने सोच्छन् ।
नेताहरुले सार्वजनिक रुपमै विदेशमा काम गर्नेहरुलाई हेपेर कुरा गर्छन् । उनीहरुको भान्सा तिनै विदेशमा काम गर्नेहरुले पठाएको रेमिट्यान्सबाट चल्छ । त्यही दानापानी खाएर राणाकालीन शासक झैं हेपेर बोल्छन् । अनि जनताले सधैं उनीहरुको हेपाहा प्रवृत्ति सहनुपर्ने ?
गर्ने केही होइन । गफ दिँदा आफू के कुरा गर्दैछु भन्ने विचार नगर्ने । तपाईंले यसो भन्नुभयो तर गर्नुभएन नि भनेर कसैले सोधे थर्काउने । जनताको करमाथि लुट मच्चाउने । उनीहरुलाई सम्मान गर्न नसक्ने ।
सबै व्यापार नेताका हुने । शैक्षिक निकाय, अस्पताल, जग्गा कारोबार, गिटी बालुवा, सुन, सेयर कारोबार जस्ता चलेका व्यवसाय नेता तथा कर्मचारीका परिवारजन वा उनीहरुका आसेपासेका मात्र हुने अनि जनता टुलुटुलु हेरेर बस्ने । अहिलेको सूचना प्रविधिको युगमा सम्भव होला ?
लोकतन्त्र दलका नेताहरुको ठेक्का हो ? अनि आन्दोलन नभएर के हुन्छ ? आज जेन–जीको नाममा भयो । अझ सुधार नभए फेरि नहोला र ?