जर्जियालाई करिब ३० करोड डलर क्षतिपूर्ति तिर्न रूसले गर्यो अस्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
2.4k
Shares
काठमाडौँ । रूसले जर्जियालाई सन् २००८ को युद्धपछि गरेको सम्झौताको कथित उल्लङ्घनका लागि करिब ३० करोड अमेरिकी डलर (२५ करोड ३० लाख युरो) क्षतिपूर्ति तिर्न युरोपेली अदालतले दिएको आदेशको पालना नगर्ने क्रेमलिनले बुधबार जनाएको छ।
सन् २००८ मा त्बिलिसीले मस्को समर्थक पृथकतावादी शक्तिविरुद्ध अचानक आक्रमण गरेपछि रूसले जर्जियाका गाउँहरूमा आक्रमण गरेको थियो। त्यसबेलादेखि रूसले उत्तरी र पश्चिमी जर्जियाको लगभग २० प्रतिशत क्षेत्रहरू कब्जा गरी आफूप्रति निष्ठावान् स्थानीय सरकारहरू स्थापना गरेको जर्जियाले आरोप लगाउँदै आएको छ। यसले जातीय जर्जियाली नागरिकहरूको फिर्ती रोकेको र प्रभावित क्षेत्रका विद्यालयहरूमा जर्जियाली भाषाको शिक्षणमा रोक लगाएको दाबी छ।
मङ्गलबार मानवअधिकारसम्बन्धी युरोपेली अदालतले जर्जियाको उजुरीलाई समर्थन गर्दै मस्कोलाई क्षतिपूर्तिको रूपमा २९.२ करोड अमेरिकी डलर भन्दा बढी तिर्न आदेश दिएको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधवार स्पष्ट रूपमा भन्नुभयो, "हामी युरोपेली अदालतको जर्जियालाई क्षतिपूर्ति दिनेसम्बन्धी निर्णयको पालना गर्दैनौं।"
रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली परिषद्बाट बाहिरिएको थियो। यद्यपि अदालतले मस्को यसअघि गरेको उल्लङ्घनका लागि उत्तरदायी रहेको बताएको छ। मस्कोले लामो समयदेखि यूरोपेली मानवअधिकार सन्धिको निर्णयहरूलाई बेवास्ता गर्दै आएको छ।
जर्जियाले सन् २००८ को युद्धपछि औपचारिक रूपमा रूससँगको कूटनीतिक सम्बन्ध तोडेको थियो, तर हालैका वर्षहरूमा सम्बन्ध सुधारका लागि अनौपचारिक कदम चालेको छ।
मस्कोले जर्जियाली क्षेत्रहरू अब्खाजिया र दक्षिण ओसेटियालाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिन्छ भने विश्वका अधिकांश भागहरूले उनीहरूलाई जर्जियाली क्षेत्रको रूपमा मान्यता दिन्छन्। जरिवाना नतिरेको प्रश्नमा पेस्कोभले यो 'छुट्टै विषय' भएको बताएका छन्।