विश्व बैंक बैठकको साइडलाइनमा अर्थमन्त्री खनालद्वारा महत्वपूर्ण भेटघाट
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
937
Shares
काठमाडौँ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलबार विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूसँग महत्वपूर्ण भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन्।
मङ्गलबार मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए। वाशिङ्गटन डिसीस्थित राजदूतावासका अनुसार, उक्त भेटका अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो र सो छलफल उपयोगी भएको निष्कर्ष निकालिएको छ। उक्त भेटमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग पनि सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरेका थिए। यसअघि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरेका थिए।
यी भेटघाटहरूमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।