११ दिनपछि मेची राजमार्गको विकल्प : तिल्केनी–सिमलगोलाई सडकखण्ड आजदेखि सञ्चालनमा
मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न सकिएन, भू–संरचनाका कारण इलाम–राजदुवाली सडक तत्काल खुलाउन नसकिने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
938
Shares
इलाम। मेची राजमार्गको अवरोधपछि विकल्पका रूपमा रहेको तिल्केनी–सिमलगोलाई सडकखण्ड आज (बुधबार) देखि सञ्चालनमा आउने भएको छ। सडकखण्डअन्तर्गत जोगमाई खोलामा डाइभर्सन निर्माणको काम सकिएपछि यातायात सञ्चालनमा आउन लागेको हो।
सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन तयार भएको बताएका छन्। गत असोज १८ गतेको बाढीले जोगमाई खोलाको बेलिब्रिज बगाएपछि यो डाइभर्सन निर्माण गरिएको हो।
प्रमुख भट्टराईका अनुसार, खोलामा हाइड्रोपावरको टेलरेस्ट र आठवटा ह्युमपाइप बिच्छ्याएर पानी कटाइएको छ। यो डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो। उनले बुधबारदेखि नै सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन्।
मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडक विगत ११ दिनदेखि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ, जसले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा ठूलो समस्या उत्पन्न गरेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अवरोधपछि १२ किलोमिटर लामो तिल्केनी–सिमलगोलाई सडकखण्डलाई प्रमुख विकल्प मानिएको बताइन्। आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहे पनि यो सडकखण्ड पूर्ण रूपमा खुल्न सकेको थिएन।
प्रजिअ नेपालले तीव्र मोड र साँघुरोपनाका कारण ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको बताएकी छन्। सडक डिभिजन प्रमुख भट्टराईले जटिल भू–संरचनाका कारण इलाम–राजदुवाली सडक तत्काल खुलाउन नसकिने स्पष्ट पारेका छन्।