arrow

उपेन्द्रद्वारा निर्वाचनको मितिमाथि शंका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
upendra-06-28.jpg

जनकपुर। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गरेका छन् । उनले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको आरोप लगाए।

जसपा नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना कुनै काम नगरी बितिसकेको बताएका छन्। उनले राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गरे।

यादवले भने, "हामीलाई थाहा छ, यो सरकार संविधानअनुकूल छैन। संसद विघटन पनि संविधानअनुकूल छैन। आवश्यकताको सिद्धान्तका आधारमा यो सरकार बनेको हो। चुनाव गर्ने दायित्व यो सरकारको छ। एक महिनासम्म कुनै काम गरेको छैन।" उनले अन्तरिम सरकारले अहिलेसम्म राजनीतिक दलहरूसँग निर्वाचन केन्द्रित छलफल नगरेको भन्दै यदि चुनाव भए पनि राजा ज्ञानेन्द्रले गराएको भन्दा ठूलो चुनाव नहुने उनको भनाई थियो। उनले यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरूसँग छलफल र बहस गर्नु जरुरी रहेको बताए।

यसैगरी, उनले संविधान पुनःलेखनको जरुरी रहेको बताउँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताए। उनले मध्यावधि निर्वाचन पूर्व नै संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए।

अध्यक्ष यादवले संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराउँदै संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए जसपा नेपाल त्यस विरुद्ध लड्न सधैं खडा हुने चेतावनी दिए। उनले संघीय गणतन्त्रात्मक व्यवस्थालाई कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताए। उनले काँग्रेस र कम्युनिष्टहरूको सत्ताको खेलले राजनीतिक अस्थिरतामात्रै पैदा गरेको र बारम्बार प्रधानमन्त्री बनेपनि देशलाई बर्बाद पार्ने काम मात्रै गरेको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ