arrow

बेनी-दरवाङ सडक मर्मतपछि ठूला सवारीसाधन सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
beni-darbang-road.jpg

म्याग्दी। जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएपछि यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन्। बर्खायाम रोकिएपछि पूर्वाधार विकास कार्यालयले सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएको हो।

कार्यालयका सुपरभाइजर रामजी आचार्यका अनुसार फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोजस्ता स्थानमा सडक मर्मत गरी दुईतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको छ। धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। बागलुङको तमानखोलाका बासिन्दाले पनि यो सडक प्रयोग गर्छन्।

सडक सुधार भएपछि म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले दरवाङदेखि काठमाडौँ र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्। यसबाट म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन लगायतका विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ।

यद्यपि, पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकमा पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा हरेक वर्ष प्रभावित हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ