नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
810
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्नेछन्। १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरूले आगामी कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्ने बैङ्कले जनाएको छ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले यस पटकदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए। “मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ”, उनले भने। नबिल एसएसईअन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन प्रवर्द्धन गर्दै समावेशी विकास र रोजगारी सृजनामा केन्द्रित भएको बताए।
नबिल एसएसईअन्तर्गत दुई वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन्। बैङ्कका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुलाइएको हो। छ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ।
फेलोसिप कार्यक्रम स्टार्टअप तथा नवीनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको छ। जसमा सहभागीले ६ महिनासम्म विश्व स्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन्। साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन्। फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ उद्यम सञ्चालन भइरहेका छन्।
त्यसै गरी सर्टिफिकेट कोर्स सात वटै प्रदेशमा सञ्चालित छ। तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैङ्कका अनुसार हाल यो कोर्स कोसी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगन्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुल र बाग्मती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्य ज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूर पश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ। सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैङ्कको भनाइ छ। हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भई एक हजार ६९ जनाले लाभ लिइसकेका छन्।
बैङ्कले यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक फरक प्राथमिकताका क्षेत्रहरू निर्धारण गरी सञ्चालन गर्ने भएको छ। जस अनुसार कोसी प्रदेशमा हाइ भ्यालु क्रपस्, मधेसमा एग्रो भ्यालु चेन, बाग्मतीमा डिजिटल नवप्रवर्तन तथा हरित उद्यम विकास र गण्डकीमा सामुदायिक होमस्टे र पर्यटन प्रवर्द्धन कार्यक्रमलाई मुख्य प्राथमिकता दिइनेछ। साथै लुम्बिनी प्रदेशमा एग्रो भ्यालु चेन, धार्मिक पर्यटन, संस्कृतिसँग सम्बन्धित उद्यमशीलता, कर्णालीमा पर्वतीय उद्यम अभियान – मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम प्रवर्द्धन र सुदूरपश्चिममा ग्रामीण पर्यटन र पशुपालन उद्यम प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
बैङ्कका अनुसार नबिल एसएईका दुवै कार्यक्रममा सहभागी हुन चाहनेले नबिल बैङ्कको वेबसाइट, नबिल एसएईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन् । बैङ्कले नबिल एसएसईलाई दिगो विकासमा योगदान पुर्याउने उद्यमशीलतालाई सुदृढ गर्न आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ । यस कार्यक्रममार्फत हालसम्म १७ हजार भन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको बैङ्कको भनाइ छ।
नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क हो। नबिल बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। बैङ्कले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ। बैङ्कको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ। आवेदन दिनका लागि यस लिङ्कमा क्लिक गर्ने बैङ्कले जनाएको छ।