जाँचबुझ आयोगलाई कानूनी दायराभित्र रहेर काम गर्न पूर्वगृहमन्त्री लेखकको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
1.2k
Shares
काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता लेखकले सरकार, छानबिन आयोग र राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनको अधीनभित्र रहेर आ–आफ्नो कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
उनले कानूनी शासनको मान्यताभित्र बसेर सबैले अगाडि बढ्न आवश्यक रहेको बताए। उनले मुलुक राजनीतिक जटिलतातर्फ धकेलिएको उल्लेख गर्दै यस्तो अवस्थामा संयमित हुन सबैलाई आग्रह गरे।
गत भदौ २३ र २४ गते भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेन–जी युवाहरूले आन्दोलन गरेका थिए। सो आन्दोलनले हिंसात्मक रूप लिँदा ७३ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। सरकारले यस घटनाको दमन र लुटपाटको छानबिन गर्नका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।