arrow

बढ्यो चोरी-सिकारी र अवैध उत्खनन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
BARDIYA NATIONAL PARK.jpg

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वन्यजन्तुको चोरी–शिकारी र वन पैदावारको अवैध निकासीका घटनाहरू बढेको पाइएको छ।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्ति तथा समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तुको शिकारी गर्ने र वन्यजन्तुका बच्चा समाउने कार्य गर्दै आएका छन्।

साथै, उनीहरूले वनको सिमानामा लगाइएका तारबार भत्काउने, अनुमतिपुर्जी नलिई घाँस, दाउरा, डालेघाँस लगायत वन पैदावार सङ्कलन गर्ने र सामुदायिक वन क्षेत्रभित्र अनधिकृत चरिचरन गराउने गरेका छन्।

वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पुग्ने गरी वन क्षेत्रभित्रका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने तथा नदीमा करेन्ट प्रवाह गर्ने कार्य भइरहेको अध्यक्ष महराले बताए।

चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरणहरू समेत तोडफोड गरिएको छ। यति मात्र नभई राति र दिउँसो सवारीसाधन प्रवेश गराएर वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन समेत भइरहेको उनले उल्लेख गरे।

वनका पदाधिकारीहरूले सार्वजनिक सूचना प्रकाशित गरी गैरकानुनी कार्य नगर्न सम्बन्धित निकाय र स्थानीयलाई आग्रह गरेका छन्। यदि त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार कारबाही गर्न बाध्य हुने चेतावनी अध्यक्ष महराले दिएका छन्।

सामुदायिक वनले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरी लाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा तत्काल संलग्न हुन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ