ओली र लेखक विरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई पठायो फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
1.2k
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक विरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेन-जी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिए ।
यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।
आज आयोगले एक विज्ञप्ति जारी गरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको छ ।
आयोगलाई उक्त घटनाको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाहीसम्बन्धमा आवश्यक रायदिने कार्यादेश आयोगले पाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले फौजदारी वारदातमा अनुसन्धान कार्य गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने पनि स्पष्ट पारेको छ ।