सर्बियाको रूसी स्वामित्वको तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध लागू
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
2.4k
Shares
तस्बिर फाइल
काठमाडौँ। महिनौँको ढिलाइपछि सर्बियाको रूसी स्वामित्वमा रहेको एनआइएस तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध बिहीबारदेखि औपचारिक रूपमा लागू भएको छ। यो कम्पनी सर्बियाको एकमात्र रिफाइनरी सञ्चालन गर्ने प्रमुख एकाइ हो।
सन् २०२२ मा युक्रेनमाथि भएको रूसी आक्रमणपछि अमेरिकाले रूसी ऊर्जा क्षेत्रमाथि नियन्त्रण कडा बनाउन सर्बियाको पेट्रोलियम उद्योग एनआइएसलाई यस वर्षको जनवरीमा नै प्रतिबन्धको सूचीमा राखेको थियो, तर निर्णय कार्यान्वयनमा ढिलाइ भएको थियो।
कम्पनीका अनुसार बिहीबार बिहान ६ बजेदेखि अमेरिकी अर्थ मन्त्रालयले दिएको विशेष इजाजतपत्रको म्याद सकिएपछि प्रतिबन्ध पूर्ण रूपमा लागू भएको हो। एनआइएसले यो अवस्थाबाट पार पाउन र प्रतिबन्ध सूचीबाट हट्नका लागि अमेरिकी अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताएको छ। कम्पनीले हालका लागि प्रशोधनका लागि पर्याप्त कच्चा तेल भण्डारण भएको र पेट्रोल पम्पहरूमा सबै प्रकारका इन्धन उपलब्ध रहेको स्पष्ट पारेको छ।
राष्ट्रपति अलेक्सान्डर भुसिकले सोमबार चेतावनी दिँदै प्रतिबन्धले गम्भीर असर पार्ने बताउनुभएको थियो। उहाँका अनुसार यसको सबैभन्दा पहिले असर बैङ्किङ क्षेत्रमा देखिनेछ, किनकि "संसारमा कुनै पनि बैंक अमेरिकाको प्रतिबन्ध उल्लङ्घन गर्ने जोखिम लिन तयार हुँदैन।"
एनआइएसका अनुसार अब सर्बियाभित्रका पेट्रोल पम्पहरूले घरेलु कार्ड र नगद मात्र स्वीकार गर्नेछन् भने विदेशी भुक्तानी कार्डहरूले काम गर्न बन्द गर्ने अपेक्षा गरिएको छ।
बेलग्रेडका अर्थशास्त्री गोरान रादोसाभलजेभिकका अनुसार एनआइएसले सर्बियाको करिब ८० प्रतिशत डिजेल र पेट्रोल आपूर्ति गर्ने भएकाले प्रतिबन्धको असर व्यापक हुन सक्छ। उहाँले यसले वित्तीय क्षेत्रदेखि कृषि र एयर सर्बियाको जेट इन्धन आपूर्तिसम्म असर पुर्याउन सक्ने चेतावनी दिनुभयो। वित्तीय संस्थाहरूले प्रतिबन्धित निकायसँग कारोबार गरेको सूचीमा पर्ने जोखिमबाट बच्न एनआइएससँगका सबै कारोबार र सहयोग तुरुन्तै रोक्नुपर्ने अवस्था आएको छ।
एनआइएसमा हाल गाजप्रोम नेफ्टको ४५ प्रतिशत स्वामित्व छ, सर्बिया सरकारले करिब ३० प्रतिशत हिस्सा ओगटेको छ र बाँकी सेयर अल्पसङ्ख्यक लगानीकर्ताहरूको स्वामित्वमा छ।
राष्ट्रपति भुसिकले कम्पनीको भविष्यबारे रुसका सेयरधनीहरूको सम्भावित विनिवेश (सेयर बेच्ने) बारे पनि वार्ता भइरहेको जानकारी दिनुभएको छ। तर अर्थशास्त्री रादोसाभलजेभिकले कम्पनीबाट रूसी स्वामित्वको पूर्ण निकास 'अत्यन्त कठिन' रहेको बताए। उहाँका अनुसार रुस आफ्नो सेयर बेच्न चाहँदैन, किनभने एनआइएस राजनीतिक रूपमा महत्त्वपूर्ण छ।
पश्चिमी दबाबका बाबजुद सर्बियाले मस्कोसँगको घनिष्ठ सम्बन्ध कायम राख्दै आएको छ र युरोपेली सङ्घ (इयु) मा सदस्यता खोजिरहे पनि रूसविरुद्ध प्रतिबन्ध लगाएको छैन। सर्बिया रूसी ग्यासमा अत्यधिक निर्भर रहेको र नयाँ ग्यास आपूर्ति सम्झौताका लागि वार्ता भइरहेको जनाइएको छ।