काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सही बाटोमा फर्काउनका लागि 'संसद पुनःस्थापनाको माग' गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा बोल्दै ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदमहरू लाई स्वीकारेर अगाडि बढ्न खोजिएमा देश बर्बाद हुने चेतावनी दिएका छन्।
उनले भने, "अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढङ्गले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन।"
ओलीले आफूले राखेको यो मागमा नेपाली कांग्रेस लगायतका सबै दलहरू अगाडि बढ्ने विश्वास व्यक्त गरे। "त्यसो गरेनौँ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरू त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौँ भने देश बर्बाद हुनेछ," उनले थपे। उनले समयमा दृढतापूर्वक यो कदम नचालेपछि पछुताउनुपर्ने अवस्था आउने बताए।
अन्तमा, अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको आरोप पनि दोहोर्याएका छन्।