arrow

एमाले महासचिवको आरोप- वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नु 'भ्रम मात्रै'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
shankar-pokhrels-ss.jpg

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा 'भ्रम मात्रै' भएको बताएका छन्। उनले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि कुनै पहलकदमी नलिएको जिकिर पनि गरे।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको नियतमाथि प्रश्न उठाए। उनले चुनाव गराउनका लागि सरकारले राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेको गुनासो पनि गरे।

पोखरेलले भने, "यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा पनि भ्रम मात्रै हो। किनकि सरकारले चुनावको वातावरण कुरामा कुनै प्रकारको पहलकदमी लिएको अनुभूति न नागरिकले गरेका छन्, न नेपालका राजनीतिक दलहरूले गरेका छन्। न नेपालका सुरक्षा अङ्गले नै सरकार शान्ति सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिबद्ध छ भन्ने कुराको अनुभूति गर्न सकेका छन्।"

महासचिव पोखरेलले सरकार गठनको प्रक्रियामा समेत आपत्ति जनाउँदै वर्तमान सरकार राजनीतिक दलहरूको परामर्श अनुसार नबनेको बताए।

उनले भदौ २४ गतेको घटनापछि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता तीनवटै प्रमुख पार्टीहरूले संविधानभित्रैबाट आन्दोलनकारीको मागलाई सम्बोधन गर्नेगरी प्रक्रिया अघि बढाउनुपर्ने र त्यसका लागि सहयोगी बन्न तयार रहेको बताएका थिए। तर, उनले भने, "त्यो हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो।"

उनले संविधानभित्रैबाट सरकार गठनका लागि प्रमुख दलहरूले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने चेतावनी पनि दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ