इजरायल-हमास शान्ति योजनाको पहिलो चरणमा सहमति भएको ट्रम्पको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
2.4k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ट्रुथ सोशलमार्फत इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन्। यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ भन्ने उनको भनाइ छ।
ट्रम्पले यो योजनालाई बलियो, दिगो र अनन्त शान्तितर्फको पहिलो कदम को रूपमा व्याख्या गरेका छन्। घोषणा अनुसार, इजरायलले सहमति भएको रेखामा आफ्ना सेना फिर्ता गर्नेछ।
राष्ट्रपति ट्रम्पले यस ऐतिहासिक घटनाका लागि कतार, इजिप्ट र टर्की का मध्यस्थकर्ताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै आफू यसै हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्न सक्ने सम्भावना रहेको पनि बताए।
इजरायल र हमासले गत सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए।
अक्टोबर ७, २०२३ मा युद्ध शुरु भएदेखि इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस पारेको छ, जसले गर्दा व्यापक अनिकाल र विस्थापनको अवस्था सिर्जना भएको छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धमा हालसम्म कम्तिमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन्।