नागरिक अगुवाहरूको संयुक्त आह्वान: दलका नेतृत्वले अविलम्ब पद छाड्नू
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
820
Shares
काठमाडौँ। ‘जेनजी’ प्रदर्शनले देशमा उत्पन्न गरेको अस्थिर परिस्थिति र राजनीतिक दलहरूको भूमिकालाई लिएर नागरिक समाजका अगुवाहरूले तत्काल नेतृत्व हस्तान्तरण गर्न राजनीतिक दलका पहिलो पुस्ताका नेताहरूलाई कडा आह्वान गरेका छन्। बुधबार २३ जना नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै यो माग गरेका हुन्।
अगुवाहरूले हालको जटिल परिस्थिति उत्पन्न हुनुको मूल कारक राजनीतिक दलका नेतृत्व तहको कार्यशैली र गम्भीर वैचारिक विचलन रहेको निष्कर्ष निकालेका छन्। अपिलमा भनिएको छ कि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको कमी, र सत्तामा टिकिरहने मोह बढेकाले दलहरू जनआक्रोशको सिकार बनेका छन्।
जनताको विश्वास पुनः प्राप्त गर्न, संविधानको संरक्षण गर्न र राजनीतिमा युवा पुस्ताको संलग्नता बढाउनका लागि दलहरूले विगतका गल्तीको समीक्षा गरी जनतासँग क्षमा माग्दै अविलम्ब नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न अत्यावश्यक रहेको उनीहरूले जोड दिएका छन्।
नागरिक अगुवाहरूले 'जेनजी' नवयुवाहरूको भ्रष्टाचार विरोधी आन्दोलनको औचित्य स्वीकार गर्दै वर्तमान अन्तरिम सरकारले संवैधानिक सीमाभित्र रहेर उनीहरूका जायज माग पूरा गर्ने प्रतिबद्धताको स्वागत गरेका छन्।
तर, आन्दोलनका क्रममा भएको घुसपैठले प्रदर्शनलाई हिंसात्मक बनाउनु, प्रदर्शनकारीमाथि क्रूर सरकारी दमन हुनु र त्यसपछिका अराजकतापूर्ण घटनाहरूको तीव्र भर्त्सना गरिएको छ। उनीहरूले निजी निवास, सरकारी भवन, राजनीतिक दलका कार्यालय, अदालत र सञ्चारगृहमाथि भएका लुटपाट, आगजनी तथा सुरक्षा निकाय र सुरक्षाकर्मीमाथि भएका आक्रमणका साथै राज्य पक्षबाट भएको हत्या हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त छानबिन गरी कानुनको दायरामा ल्याउन माग गरेका छन्।
यस क्रममा आगजानी र तोडफोडमा संलग्नलाई तत्काल कारबाही नगरिने आशयको सरकारद्वारा जारी निर्देशन खारेज गर्न र आन्दोलनकारी र विध्वंशकारीहरूलाई छुट्याई कारबाही गर्न माग गरिएको छ।
अगुवाहरूले भ्रष्टाचारको आरोपमा संलग्न व्यक्तिहरूमाथि अविलम्ब छानबिन गरी कानुनी प्रक्रिया सुरु गर्न सरकारलाई सचेत गराएका छन्। साथै, नेपालका प्रधान न्यायाधीश र संवैधानिक अङ्गका पदाधिकारीहरूका विरुद्ध सिर्जना गरिएको भय, त्रास र अनिश्चिततापूर्ण परिस्थिति अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन्।
अन्तमा, संवैधानिक प्रक्रिया यथासक्य चाँडो सुसञ्चालन गर्न र तोकिएको मितिमा निर्वाचनमा उत्साहपूर्वक मतदान हुन सक्ने वातावरण निर्माण गर्नका लागि राजनीतिक दल, जेनजी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न उनीहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।