मेयरले अख्तियारी नदिँदा शिक्षक कर्मचारीलै तलबै पाएनन्, नगरपालिकामा तालाबन्दी
दिपेश जोशी,
प्रकाशित २०८२ असोज २२ बुधबार
1.5k
Shares
राजविराज। सप्तरीको खडक नगरपालिकामा कार्यरत शिक्षकहरूले चालु आर्थिक वर्षमा तलब नपाएको विरोधमा नगरपालिका कार्यालयको मूलगेटमै बुधबार तालाबन्दी गरेका छन् ।
नगर प्रमुख जयप्रकाश चौधरीले दशैँ अगाडि नै तलब भत्ता निकासा गरिदिने दिएको आश्वासन अनुसार अहिलेसम्म कुनै प्रकारको पहल नगरेको कारण तालाबन्दी गर्न बाध्य भएको शिक्षक धर्मराज सिंहले बताए ।
दशैँको मुखमा तलब भत्ता दिने अवस्था नदेखिएपछि असोज २ गते शिक्षकहरुको विरोध जनाउँदा नगर प्रमुखले शिक्षक तथा कर्मचारीलाई तलब भत्ता खुवाउन प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने दिएको आश्वासन झुटो भएको अर्का शिक्षक कुलानन्द साहले भने ।
अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छैन । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यलयलाई समेत जानकारी गराउँदा पनि तलब भत्ता निकासा सम्बन्धी कुनै सुनुवाई नभएपछि तालबान्दी गर्न बाध्य भएको उनले बताए ।
केही दिनअघि शिक्षामन्त्री महावीर पुनले तलब नदिने प्रधानाध्यकलाई कारबाही गर्छौं भनी दिएको अभिव्यक्तिका कारण विद्यालयमा शिक्षकहरुले तलब दिनुस् नभए कारबाही हुन्छ भनी धम्काएपछि विद्यालयमा बस्ने, पढाउने, शिक्षकलाई शिक्षण कार्यमा लगाउने वातावरण नरहेकोले विद्यालयको पठपाठन ठप्प पारेर आन्दोलन गर्न विवश भएको प्रधानाध्यापकहरुले बताए ।
पालिका तालाबन्दीपछि १५ जना शिक्षकहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा आर्थिक वर्ष २०८२/८३ को तीन महिना बित्नलाग्दा पनि तलब भत्ता नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “ तलब निकासा सम्बन्धी कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । हामी शिक्षकहरू विद्यालय सञ्चालनका लागि निरन्तर सक्रिय रहँदै आएका छौँ तर बिना तलब भत्ता घरपरिवारको गर्जो कसरी टार्ने भनी प्रश्न गरिएको छ । नगरपालिकाले लापरबाही गरेका कारण जीविकोपार्जनमै कठिनाइ भएको छ ।”
शिक्षकहरूले तलब भत्ताका लागि पटक–पटक नगरपालिकामा धाउने गरेको तर कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । उनीहरूले तत्काल तलब उपलब्ध नगराइए सम्पूर्ण विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, “तलबविहीन अवस्थामा शिक्षकहरूलाई कक्षा सञ्चालन गर्न बाध्य पारिनु अमानवीय व्यवहार हो । पालिकाले तत्काल तलबको व्यवस्था नगरेसम्म पठन–पाठन सञ्चालन हुन सक्दैन ।''
शिक्षकहरूले सो मागबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिएर ध्यानाकर्षण गराएका छन् । शिक्षक तथा कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई कार्यालय प्रवेशमा रोक समेत लगाएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई शिक्षकहरुले बाटोमै रोकेर तलब उपलब्ध गराउन माग गर्दै अभद्र व्यवहार गर्न खोजेका थिए ।
सो सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विनय सोनुले शिक्षक तथा कर्मचारीको तलब भत्ता खुवाउन २४ घण्टै तयार रहेको तर अहिलेसम्म मेयरले अख्तियारी नै नदिएको बताए ।
यता सो सम्बन्धमा नगर प्रमुख जयप्रकाश चौधरीसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।