नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमै खुम्चिने प्रक्षेपण
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
785
Shares
काठमाडौँ । विश्व बैंकले सार्वजनिक गरेको ताजा प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ नामक प्रतिवेदनमा विश्व बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र त्यसपछि बढेको राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण नेपालको वृद्धिदरमा व्यापक गिरावट आउने अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४ दशमलव ६१ प्रतिशत रहेकोमा यस वर्ष त्यसको आधा भन्दा कम रहने देखिएको छ ।
प्रतिवेदनले नेपालको सम्भावित आर्थिक वृद्धि दायरा १ दशमलव५ देखि २दशमलव६ प्रतिशतसम्म सीमित रहने उल्लेख गरेको छ ।
विश्व बैंकका अनुसार हालको अस्थिर राजनीतिक वातावरण, लगानीकर्ताको घट्दो विश्वास, पर्यटन क्षेत्रमा आएको गिरावट र बीमा उद्योगमा देखिएको दबाबले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ ।
जेन-जी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र निजी तथा सावर्जनिक सम्पत्तिमा भएको क्षतिले बीमा तथा वित्तीय क्षेत्रमा थप दबाब सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब ६१ खर्ब सात अर्ब रुपैयाँ रहेको अनुमान गरिएको थियो ।
सो वर्ष मुद्रास्फीति दर ४दशमलव०६ प्रतिशतमा सीमित रहेको र वैदेशिक मुद्रा भण्डार २दशमलव६७७ खर्ब रुपैयाँ पुगेको विश्व बैंकले जनाएको छ ।
यस्तै, वैदेशिक रोजगारीबाट आउने प्रेषण रकममा १९दशमलव२ प्रतिशतले वृद्धि भई १दशमलव७२३ खर्ब रुपैयाँ पुगेको थियो । कृषि क्षेत्रको वृद्धि दर ३दशमलव२८ प्रतिशत र उद्योग तथा सेवा क्षेत्रले उल्लेखनीय योगदान दिएका थिए ।
तर यसवर्ष राजनीतिक अनिश्चितता र लगानीको वातावरणमा देखिएको कमजोर अवस्थाका कारण आर्थिक वृद्धि सुस्त हुने देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दक्षिण एसियाली क्षेत्रमा यसवर्ष औसत आर्थिक वृद्धि दर ६दशमलव६ प्रतिशत हुने अनुमान भए पनि नेपालमा राजनीतिक अस्थिरताका कारण वृद्धि दर घट्ने विश्व बैंकको निष्कर्ष छ ।
समग्रमा, विश्व बैंकले नेपालले निकट भविष्यमा आर्थिक पुनरुत्थानका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री नीति र पर्यावरणीय सन्तुलनका उपायहरूमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएको छ ।