पोखरा । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीको बन्दीगृहबाट भागेकामध्ये २९० जना कैदीबन्दी अझै फरार छन् ।
कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये चार सय ८३ जना फर्किएको र दुई सय ९० जना हालसम्म फरार रहेको जानकारी दिए ।
उनले भने, “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई भने भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाहरूको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने विभागको निर्देशनको पर्खाइमा छौँ ।”
कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले गत असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो । तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको बताइन्छ ।
उनीहरूलाई प्रचलित कानूनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानूनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।
प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । तर कैदीबन्दीको विवरण कम्प्यूटर अभिलेखमा सुरक्षित छ ।
त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताए ।
प्रदर्शनकारीले गत भदौ २४ गते कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।