बाजुरा । बाजुरामा उत्पादित अर्ग्यानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठूला शहरमा बढ्न थालेको हो ।
यहाँका नौ वटै स्थानीय तहमा उत्पादित कोदो काठमाडौँ, पाेखरा, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ ।
पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढे पनि उत्पादन भने घट्दै गएको छ ।
पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिस आयातित वस्तुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो ।
मानिस विलासी जीवन जिउने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो मात्रै नभई अन्य बालीको पनि उत्पादन घट्दै गएको पाइन्छ ।
बाजुराको हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल बुढीगङ्गा, खप्तडछेडेदह, त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुने गरेको गरे पनि कोदो खेती हराउँदै गएको हो ।
बाजुराका विभिन्न विद्यालयमा कोदोजन्य परिकार बनाएर दिवा खाजाको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । कोदोको उत्पादनमा बढवा दिन बडीमालिका नगरपालिकाले प्रत्येक बर्ष मङ्सिर १ गते कोदो दिवससमेत मनाउँदै आएको छ ।
पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको उत्पादन, वृद्धि तथा प्रवर्द्धन गर्नका निमित्त नगरपालिकाको नीति कार्यक्रमअनुसार हरेक बर्षको मंसिर १ गते कोदो दिवस सञ्चालन गर्ने गरिएको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताए ।
बाजुरामा पछिल्लो समय कोदो उत्पादन घट्दै गएकोले थप त्यसलाई बढुवा दिन तथा कोदो खेतीको संरक्षण तथा संबर्द्धन गर्न कोदो दिवस मनाउने गरिएको पाध्यायको भनाइ छ ।
कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपगोगी मानिन्छ ।
मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८दशमलव७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । यसैगरी चामलमा भन्दा २दशमलव३ गुणा, मकैमा भन्दा ३दशमलव७ गुणा र गहुँमा भन्दा १दशमलव५ गुणा बढी फलाम तत्व कोदोमा पाइने गरेको छ ।
नेपाली जनजीवनमा “कु” अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेको यस अन्नलाई अहिले गरिब भन्दा पनि धनीहरूले बढी प्रयोग गर्ने गरेको पाइन्छ ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जशीराम साहानीले कोदो खेतीका लागि जिल्लाभर दुई लाख ३० हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर जमिन खेती योग्य रहेको बताए ।
त्यसमध्ये पाँच हजार दुई सय ३५ हेक्टर जमिनमा वर्षभरि सिचाइँ सुविधा उपलब्ध छ । कोदो खाद्यान्न उत्पादनको योगदान २२दशमलव६२ प्रतिशत मात्र रहेको उनको भनाइ छ ।