arrow

विपद्को कहर: आगलागी, करेन्ट र जङ्गली जनावरबाट ठूलो जनधनको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
Kanchanpur.jpeg.jpeg

कञ्चनपुर । कञ्चनपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आगलागी, करेन्ट, सर्पदंश, जङ्गली जनावरको आक्रमण तथा बाढीजन्य विपद्का कारण जनधनमा ठूलो क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार जिल्लामा विभिन्न विपद्जन्य घटनाहरूबाट ठूलो नोक्सानी भएको छ।

आगलागीबाट हालसम्म तीन घर पूर्ण र पाँच घर आंशिक रूपमा जलेका छन्। यसबाट बहुमूल्य सामान, कागजात र अन्न नष्ट हुँदा करिब रु २२ लाख ३२ हजार बराबरको क्षति भएको छ। आगलागीमा परी एक चौपायाको मृत्यु भएको छ भने १२ चौपाया घाइते भएका छन्।

यस्तै, करेन्ट लागेर तीन जनाको मृत्यु र पाँच जना घाइते भएका छन्, भने एउटा भैँसीको पनि मृत्यु भएको छ। सर्पदंशका कारण एक जनाको ज्यान गइसकेको छ भने ३१ जना घाइते भएका छन्।

जङ्गली जनावरको आक्रमणबाट तीन जना घाइते भएका छन्। तीमध्ये दुई जना बाघको र एक जना हात्तीको आक्रमणमा परेका हुन्। जनावर आक्रमणबाट १० चौपाया मारिएका र २० भन्दा बढी घर आंशिक क्षतिग्रस्त भएका छन्, जसबाट मात्रै करिब रु १० लाख १० हजार बराबरको क्षति भएको छ।

यसैगरी, नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। वर्षाजन्य विपद् अन्तर्गत बाढीबाट चार घर पूर्ण क्षति र ६३ घरमा पानी पसेर सामान्य क्षति पुगेको छ। यसबाट करिब रु चार लाख ४५ हजार बराबरको क्षति पुगेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ