भारी वर्षाको पूर्वानुमान: मन्त्री घिसिङद्वारा सतर्कता साथ यात्रा गर्न आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1.3k
Shares
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै सम्पूर्ण यात्रुलाई सतर्कताका साथ यात्रा गर्न आग्रह रेका छन्। मन्त्री घिसिङले बुधवार बीपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो आग्रह गरेका हुन्।
मन्त्री घिसिङले गत वर्षको बाढी र पहिरोले बीपी राजमार्गमा धेरै क्षति पुर्याएको र अहिलेसम्म पनि पुल तथा सडक नबनेकाले अब नयाँ अध्ययन गरेर छिटो काम सम्पन्न गर्नेगरी अघि बढाइने बताए। उनले आगामी हिउँददेखि नै बीपी राजमार्गको सडक बनाउन सुरु गरिने र छिटोभन्दा छिटो पहिलाकै अवस्थामा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए।
मन्त्री घिसिङले बीपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने पूर्वानुमान रहेकाले सबैले सुरक्षित हिसाबले सतर्कता अपनाएर यात्रा गर्न अनुरोध गरेका छन्। बाढीले बगाएका पक्की पुलहरूको विकल्प दिने र नयाँ पुल कहाँ तथा कसरी बनाउने भन्ने विषयमा निरीक्षण भइरहेको उनले बताए।
उनका अनुसार, रोशी खोलाको भत्किएको बेलिब्रिज लाई कसरी सुचारु गर्ने भन्नेमा सोच भइरहेको छ भने गत सालको बाढीले बगाएको खैरहनी घाटको पुल लाई पनि तत्काल बेलिब्रिज बनाउन अध्ययन गरेर अघि बढाइनेछ।
सरकार अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारका लागि चुनौती रहेको बताए। उनले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने र पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए।
उनले अब देशभरका लामो समयसम्म सम्पन्न नभएका सडक तथा पुलका ठेक्का तोडेर नयाँ ठेक्का लगाइने जानकारी पनि दिनुभयो। यसैगरी, मरिन डाइभर्सन को काम सम्पन्न गर्नका लागि ठेकेदारसँग निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन आग्रह गरिएको पनि उनले बताए।