काठमाडौँ । चीनले आफ्नो कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको शीर्ष पदमा युरोपेली मामिलामा लामो अनुभव भएका कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ। अन्तर्राष्ट्रिय विभाग सीपीसीअन्तर्गतको कूटनीतिक शाखा हो, जसले अन्य देशका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी लिन्छ। सरकारी मिडियाले बुधबार यसबारे जानकारी दिएको हो।
६२ वर्षीय लिउ हाइक्सिङले अब यस विभागको नेतृत्व गर्नेछन् र उनले लिउ जियानचाओलाई प्रतिस्थापन गरेका छन्। पूर्ववर्ती लिउ जियानचाओ गत जुलाईदेखि सार्वजनिक रूपमा देखिएका छैनन् र उनी अनुशासनात्मक कारणले हिरासतमा रहेको आशङ्का गरिएको छ। जियानचाओले सन् २०२२ जुनदेखि विभागको नेतृत्व गर्दै आउनुभएको थियो र उहाँ सम्भावित नयाँ विदेशमन्त्रीका रूपमा समेत चर्चामा हुनुहुन्थ्यो। वाल स्ट्रिट जर्नलका अनुसार, उहाँ अनुशासनात्मक अनुसन्धानका क्रममा हिरासतमा पर्नुभएको छ।
यसअघि पनि तत्कालीन विदेशमन्त्री किन ग्याङ सन् २०२३ जुनमा रहस्यमय रूपमा बेपत्ता हुनुभएको थियो, जसपछि वाङ यीले पुनः पदभार सम्हालेका थिए। पार्टीको आन्तरिक अनुसन्धानले किन ग्याङ विवाहेतर सम्बन्धमा संलग्न भएको पत्ता लगाएको बताइएको छ।
नव नियुक्त लिउ हाइक्सिङले आफ्नो कूटनीतिक जीवनको ठूलो हिस्सा युरोपमा विभिन्न पदहरूमा बिताउनुभएको छ। सन् २००९ देखि २०१२ सम्म उहाँ फ्रान्सस्थित चिनियाँ दूतावासमा मन्त्री हुनुहुन्थ्यो। बेइजिङ फर्केपछि उहाँले सहायक विदेशमन्त्री र युरोपेली मामिला विभागका महानिर्देशकको रूपमा काम गर्नुभयो। उहाँको पछिल्लो जिम्मेवारी भने कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राष्ट्रिय सुरक्षा आयोगको कार्यकारी उप-निर्देशक को थियो।
राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएपछि अनुशासनात्मक शुद्धीकरण अभियानलाई कडा रूपमा अघि बढाएका छन्। यस अभियानअन्तर्गत अहिलेसम्म ६० लाखभन्दा बढी अधिकारीहरूलाई भ्रष्टाचार वा दुव्र्यवहारका लागि कारबाही गरिएको छ। यद्यपि, आलोचकहरूले सीले यो अभियानलाई आफ्ना विरोधीहरू हटाउन र शक्ति सुदृढ गर्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।