गोदावरी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका–१३, राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले दिएको जानकारी अनुसार, राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो।
दुर्घटनामा स्कुटर चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको हो। गम्भीर घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, स्कुटरमा सवार सोही स्थानका २६ वर्षीय सरोज बम घाइते हुनुभएको छ। उहाँको अहिले माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।