कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-३ सिउडीबागमा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी-जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका-४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताए। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा कृष्णपुर-१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट-४ की ३० वर्षीया तारा पाल, उहाँका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् ।
यस्तै, डडेल्धुराको परशुराम नगरपालिका-११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उनकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन । दुर्घटनापछि चालक फरार छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।