कञ्चनपुर । नेपालीहरूको महान् चाड दशैँ घरआँगनमै आए पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि यो पर्व खुसीको सट्टा पीडा बनेर आएको छ। दुई छाकको खाना जुटाउनै सङ्घर्ष गरिरहेका उनीहरूका लागि मीठो मसिनो खाने र नयाँ लुगा लगाउने रहर केवल सपना बनेको छ।
वनहरा शिविरकी ६५ वर्षीया माथुदेवी दमाईंले आफ्नो दुःख व्यक्त गर्दै भनिन्, "कमाइ खाने जग्गा छैन, उमेर ढल्कँदै छ, सधैँ मजदुरी पाइँदैन। हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ।" उहाँले दशैँमा पनि एक सुको पैसो नहुँदा खुसीको कुनै आश नभएको बताइन्।
शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन्। युवाहरू मजदुरीका लागि भारततर्फ गएका छन् र दशैँ भए पनि फर्किएका छैनन्। शिविरवासी देउमती देवी बोहराले कमाई नभएकाले युवाहरूले तिहारमा फर्किने खबर गरेकाले यसपाली दशैँ खल्लो हुने बताइन्।
शिविरवासीहरूले नयाँ लुगा किनेको वर्ष दिनभन्दा बढी भएको बताउँदै बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था रहेको गुनासो गरे।
वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमाथि राखिएका त्रिपाल दातृ निकायले दिएका भए पनि गर्मी असह्य हुने भएकाले धेरै परिवार रातभर पुलमुनि सुत्न बाध्य छन्। रञ्जित रावतले राति पुलमुनि डोरीको खटिया वा भुइँमै बोरा ओछ्याएर सुत्नुपर्दा लामखुट्टेले टोकेर निन्द्रा नलाग्ने पीडा सुनाए।
करिब दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किए पनि समस्या उस्तै छ। दलबहादुर बोहराले झुल, त्रिपाल र टर्चको व्यवस्थाका लागि वडादेखि नगरपालिकासम्म धाउँदा पनि सुनुवाइ नभएको बताए।
वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन्, तर झण्डै दुई दशकदेखि भूमिहीन रहेका उनीहरूको बसोबासको टुङ्गो लागेको छैन। सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको भन्दै उनीहरूले अब त माग्न जान पनि छोडेको गुनासो गरेका छन्। हरेक वर्षजस्तै यसपालीको दशैँ पनि भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडा लिएर आएको छ।