नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ईभी दुर्घटना, १७ जना घाइते
घाइते अधिकांश जुम्ला र दैलेखका
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
1k
Shares
काँक्रेविहार (सुर्खेत)। नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरको ईभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमाल का अनुसार, गाडी आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो। घाइते हुनेहरूमा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला, दैलेख, कालीकोट र मुगुका यात्रुहरू छन्।
घाइते हुनेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई र २१ वर्षीय श्री परियार, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वडा नं. ३ की २४ वर्षीया राज्यलक्ष्मी हमाल, वडा नं. ४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, र वडा नं. ५ की २२ वर्षीय विष्णु शाही रहेका छन्।
त्यसैगरी, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, वडा नं. ११ की ३० वर्षीया लक्ष्माण कार्की, र वडा नं. १० का २६ वर्षीय गणेश योगी पनि घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही, लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, र मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही समेत घाइते भएका छन्। घाइते सबैको उपचार भइरहेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिएका छन्।