हाम्रो देशमा कहिले राणाहरुको शासन, कहिले पञ्चायत शासन, कहिले बहुदलीय व्यवस्था आदिबाट जनताले अपेक्षा गरे अनुसारको परिवर्तनको अनुभव कहिल्यै पाएनन् । राणा शासन परिवर्तनका लागि राजाहरुले तल्लो घरको बडेमानको साँढेको सहयोग लिएको भन्ने बारेमा इतिहासमा लेखिएको छ ।
झण्डै २४० वर्षको इतिहास रहेको राजाको शासन फेर्नका लागि पनि त्यही साँढेले सकेको भूमिका खेल्यो अरे भन्ने बारेमा विभिन्न खोज अनुसन्धानबाट अनुमान लगाउन सकिन्छ । १० वर्षसम्म चलेको माओवादी युद्धले तहस नहस बनाएको अवस्थामा पनि नेपालका राजनीतिक पार्टीसहित कति बुँदे सम्झौता गरेको बारेमा पनि धेरैलाई थाहै छ।
हाम्रो देशमा समस्यामात्र आइरहने अनि समस्या समाधानका लागि तल्लो घरको साँढेको सहयोग लिएर क्षणिक समस्या समाधान गर्दै आएका छौँ । ऊ बडेमानको छ, नेहरूको पालामा पूरै नेपाल खान नपाएको गुनासो गरिरहन्छ । जसले सहयोग गर्छ उसले सहयोग गर्दा पलपलमा आफ्नो स्वार्थ अनुसार खेलाएको हुन्छ । संविधान सभाबाट नयाँ संविधान घोषणा गर्दा पनि नेपालीले दुःख पाएकै हुन् ।
कहिले उसले भनेअनुसार मानेनन् भनेर सीमामा साँढे देखाएर नाच्छ, कहिले केको निहुँमा थर्काउँछ, कहिले धर्मको नाउँमा खेल्न खोज्छ भने हाम्रो पानीमा उसको पकड जमाएर बसेको छ। हामीलाई कहिल्यै शान्तिसँग बस्न देला जस्तो छैन ।
यता हाम्रो माटोमा भगवान् निदाएको बेलामा जन्मिएका कुलङ्गारहरुले देश र जनताको हक हितमा खासै काम गर्न सकेन न्। उनीहरू केवल आफ्नो एकाघरका परिवारको सदस्य र केही वरिपरि चाकडी गर्नेहरूका खास मानिस बनेर प्रमाणित गरे। तिनका दैनिकी उनै साँढेहरुले खटाएका पात्रसँग झुम्म पानी पिउने अनि कहिले हाँस्ने, कहिले रिसाए जस्तो गर्ने, कहिले बहुलाउँदै समय खेर फाले र कहिल्यैदेश र जनताका लागि सोचेनन् वा सोच्न चाहेनन्।
हालैको जेन-जी नामको आन्दोलनमा खेल्नका लागि अवसर कुरेर बसेका साँढेहरुको तयारीले सार्थकता पायो । अवसरमात्र कुरेर बसेका बुङ्गाहरुका लागि साना भाइहरुको बलीदानी भर्याङ भैदियो।
विगतदेखिनै नेपाली भूमिमा परेड खेलिरहेका अनुभवी ठूलो साँढे अ, आईए आदिले अवसरको सदुपयोग गरे। यो आन्दोलनको माग भ्रष्टाचार उन्मूलन तथा स्वदेशमानै रोजगारी, सुशासन, मिल्यो भने प्रत्यक्ष कार्यकारी पनि थियो अरे । तर खेल अर्कै भैदियो ।
नेपालमा सत्ता परिवर्तन हुँदैछ भनेर झण्डै एक वर्ष अगाडिनै भविष्यवाणी गर्ने पूर्व रअ एजेन्ट लक्की बिष्टको भिडियो पनि धेरैले हेरे । नेपाली नै हुँ भन्ने कुलङ्गारहरुले पनि झण्डै एक वर्ष अगाडिबाट नै सत्ता परिवर्तनका लागि तयारी गर्दै थिए भन्ने हल्ला पनि थियो ।
गत मार्च अप्रिलमा नै उद्धेश्य सफल गराउनका लागि केही जमात त्यही संसद भवन वरिपरि देखिएका थिए पछि लखेटिए । केही महिना धकेलिए पश्चात पनि उही भवनलाई हमला गरेर अन्य भवन क्षत विक्षत गरिदिए ।
मार्च अप्रिलवालाको उपस्थिति यसमा उल्लेख्य थियो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । त्यसैगरी जेल, अदालतप्रति प्रतिशोध साँध्नेहरुले पनि देशको अनुशासन बिगार्न तथा अत्यन्त हिंस्रक मानिसहरु बस्ने देशको रुपमा विश्वभरि फैलाउनका लागि राम्रो भूमिका खेले ।
उहाँ भने यता सामाजिक सञ्जाल प्रतिबन्ध गरेँ, देशको अपमान सहनै सकिन, माथिल्लो घरको साँढेकोमा गएर परेड खेलेको पनि राम्रैसँग हेरेँ र धेरै जना ठूलेहरुसँग हात मिलाएँ भनेर रमाउँदै हुनुहुन्थ्यो। माथिल्लो घरबाट नेपाल फर्किएको केही दिन पश्चात शुरु भएको आन्दोलनले भाग्नु पर्ने अवस्था आउला भन्नेबारे न हामी जनतालाई थाहा थियो न उहाँलाई नै ।आज उहाँ पुर्पुरोमा हात लगाए धारेहात लगाउँदै मुख छाड्दै हुनुहुन्छ। खेल मैदानमा नयाँ नयाँ खेलाडी छिरेर मैदान शान्त हुने अवस्थामा छैन ।
उताका साँढेहरुले पनि पहिल्यै थाहा पाएका, हाम्रा साँढेहरुले पनि अवसर कुरिरहेका बेलामा सबै चाँजो पाँजो मिलाउनका लागि तपाईंहरुको सरकारले राम्रो भूमिका खेलिदिनु भयो। उनीहरूले त एक हिसाबले तपाईंहरूलाई धन्यवाद दिँदा हुन्छ जस्तो पनि लाग्छ । एक झड्कामा झण्डै वनबास हुन सफल भएको सरकारका विषय इतिहासमा लेखिने छ । धेरै असजिलो कामलाई पनि सजिलो बनाउन सक्ने गरी तपाईहरूले नेपालमा नै नयाँ एआई प्रबर्धन गरिदिनु भएको बारेमा पनि सबैलाई थाहा होस् । इतिहास लेख्दा तपाईंहरूको मिलिजुली सरकारका बारेमा उल्लेख भएन भने भावी पुस्ताले थाहा पाउने छैनन् ।
आगामी दिनहरु नेपालका लागि असहज नै देखिन्छ। अन्तरिम सरकारले संविधानको रक्षा गर्दै, निर्धारित मितिमा निर्वाचन गरेर नयाँ र सकारात्मक इतिहास लेखियोस् । जनताले राम्रा प्रतिनिधिहरुको छनोट गरी प्रतिनिधि सभामा पठाइ दिन सबैलाई विनम्र अनुरोध छ। चुनाव तोकिएकै मितिमा होस् । देश कसैको खेल मैदान नबनोस् ।