arrow

शक्तिशाली सामुद्रिक आँधी 'रगासा'को असर, १० लाखबढीलाई सारियो सुरक्षित स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
ragsa-aadhi.jpg

काठमाडौं । यो वर्षकै १८औँ तथा अहिलेसम्मकै शक्तिशाली मानिएको सामुद्रिक आँधी 'रगासा' ले दक्षिण चीनका विभिन्न प्रदेशमा व्यापक असर पुर्‍याएको छ। सोमबार राति दक्षिण चीन सागर प्रवेश गरेको यो आँधी बुधबार दिउँसो करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङ प्रान्तको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको थियो, जसले गर्दा भीषण हावाहुरी र मुसलधारे वर्षा भएको छ।

ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारीस्वरूप करिब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ। तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू लागू गर्दै बन्दरगाह सञ्चालन स्थगित गरिएको छ। यस क्रममा, करिब ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारहरूलाई किनारमा सुरक्षित राखिएको छ। केन्द्रीय सरकारले पनि प्रभावित क्षेत्रमा आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।

अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय निकायहरूले पूर्वसावधानी अपनाएका छन्। हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र केही हवाई उडानहरू रोकिएका छन् भने ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा पर्यटकहरूलाई वेइझोउ टापुदेखि सारिएको छ र तटीय मार्गहरू बन्द गरिएका छन्। यसैगरी, हङकङ विशेष प्रशासनिक क्षेत्रमा विद्यालयहरू बन्द गरिनुका साथै यातायात सेवा स्थगित गरिएको छ भने मकाउ विशेष प्रशासनिक क्षेत्रमा तल्लो भू–भागमा डुबान भएर स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारबाट ग्वाङ्डोङ तटमा हावा र वर्षाको तीव्रता क्रमशः घट्ने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ, जसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना छ। सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, शहरी क्षेत्रमा सम्भावित बाढी र ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमबाट सावधान रहन आग्रह गरिएको छ। आँधीबाट प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ पनि रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ