arrow

मदाने गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
madane-teachers.jpg

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको सुदुर बस्तीबाट आएका शिक्षकहरू असिनपसिन मुद्रामा तालिम हलमा प्रवेश गर्दा उनीहरूको अनुहारमा उत्सुकता झल्किन्थ्यो। “पहिलोपटक यस्तो खालको तालिममा सहभागी भएको छु, यो अनुभव निकै फरक लाग्यो,” सहभागी शिक्षक अर्जुन अर्यालले भने।

मदाने गाउँपालिकाले पहिलो पटक आफ्नो सम्पूर्ण विद्यालय शिक्षक र प्रधानाध्यापकलाई समेट्दै विशेष तालिम आयोजना गरेको हो। शैक्षिक गुणस्तर प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाएर गरिएको यस कार्यक्रममा गाउँपालिकाभरिका ४५ जना प्रधानाध्यापक र ३०६ जना शिक्षक सहभागी भएको वरिष्ठ संकाय सदस्य खिम बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा प्रधानाध्यापकहरूलाई र दोस्रो चरणमा शिक्षकहरूलाइ तालिम दिइएको थियो । 

तालिममा प्रशिक्षकका रूपमा त्रिविका सह–प्राध्यापक डा विष्णु प्रसाद पोखरेलले अनुसन्धानका तथ्यांक र प्रमाणका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका प्रष्ट पारेका थिए । “शैक्षिक पलायन अहिलेको प्रमुख चुनौती हो। यसलाई रोक्न अनुसन्धानमा आधारित रणनीति अपनाउनुपर्छ,” पोखरेलले भने। उनका अनुसार विद्यार्थीलाई विद्यालयमै आकर्षित गर्ने कार्यक्रम नभएसम्म गुणस्तरको खोजी अधुरो हुन्छ।

तालिममा सहभागीहरूलाई तालिमले आफुहरूलाइ नयाँ दृष्टिकोण दिएको अनुभव गरेका छन्। शिक्षक भीमकुमारी थापाले भनिन्, “हामीले दैनिक अभ्यासमा गर्ने पढाइ पद्धति र तालिममा सिकाइएको व्यावहारिक दृष्टिकोण धेरै फरक पाएकी छु । यसलाई कक्षाकोठामा प्रयोग गर्ने प्रयत्न गर्छु।”

अर्का शिक्षक तारा पन्थीले पनि तालिमको निरन्तरतामा जोड दिँदै, “एकपटक तालिम लिएर मात्र पुग्दैन। यसलाई हरेक वर्ष दोहोरिनुपर्छ। निरन्तरताले मात्रै परिणाम दिन्छ,” भनिन्।

गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा आवश्यक लगानी गर्न गाउँपालिका सदैव तत्पर रहने प्रतिबद्धता जनाए। उनले भने, “हामीले गाउँपालिकालाई शैक्षिक उत्कृष्टताको मोडल बनाउन चाहन्छौं। यसका लागि गुणस्तर सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिनेछौं।”

तालिमले भविष्यमा नीति निर्माणमा समेत योगदान पुर्‍याउने गाउँपालिकाका शिक्षा शाखा अधिकृत नारायण पन्थीले विश्वास व्यक्त गरे। उनका अनुसार, गाउँपालिकाले अब अनुसन्धान–आधारित विकास र तालिमलाई वार्षिक नीतिगत प्राथमिकता दिनेछ।

तालिमले शिक्षकहरूलाई मात्र होइन, सम्पूर्ण शैक्षिक प्रणालीलाई नयाँ दृष्टिकोण दिएको सहभागीहरूको अनुभूति छ। विद्यालय शिक्षा गुणस्तर सुधारको यात्रामा यो तालिम पहिलो आधारशिला सावित हुने उनीहरूको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ