कांग्रेस काठमाडौँ महानगरले जेन–जी आन्दोलनका शहीदको सम्झनामा गर्यो दीप प्रज्वलन [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
1.3k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
समितिले शनिबार साँझ कांग्रेस केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा राजधानीको शान्ति बाटिकामा जेन–जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हो ।
उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतका नेताहरूसमेत सहभागी रहेका थिए । पार्टीमा गगन थापा समूहले जेन–जीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ ।
जेन–आन्दोलनअघिदेखि नै थापा र उनको टिमले जेन–जीका पक्षमा बोल्दै आएका छन् । उनीहरू अहिलेको पुस्ता जेन–जीको भएकाले उनीहरूका विचारको कदर गर्नुपर्ने बताउँदै आएको छ ।
सोही बखतमा गत भदौ २३ गते जेन–जीहरूले भ्रष्ट सरकार र सामाजिक सञ्जालविरुद्ध आन्दोलन गरेका थिए ।
तर केपी शर्मा ओली नेतृत्वको सरकारले अन्धाधुन्ध गोली चलाएर ७२ जनाको ज्यान लिएको छ ।
गगन समूहले पार्टीलाई पुनर्जीवन दिनका लागि पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएको छ । साथै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित आगामी चुनावमा जानुपर्नेमा जोड दिएको छ ।
यति गर्न सकेमात्र कांग्रेसले जेन-जी पुस्तालाई न्याय गरेको ठहर्ने विश्लेषणसमेत भइरहेको छ ।