arrow

कृषि मन्त्रीमा अधिकारी र बस्ताकोटीको नाम चर्चामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
bastakoti-rita.jpg

काठमाडौं। अन्तरिम सरकारको गठनसँगै कृषि मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा तीव्र बनेको छ। अहिले यस पदका लागि राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी र महिला किसान नेतृ रिता बस्ताकोटीको नाम अग्रपंक्तिमा आएको छ।

उद्धव अधिकारीले १५ वर्षदेखि साना किसान, भूमिहीन र सीमान्त किसानको हकहितमा काम गर्दै आएका छन्। उनका प्रमुख प्राथमिकताहरूमा उत्पादन लागतअनुसार न्यूनतम समर्थन मूल्यको सुनिश्चितता, कृषिमा बजेटको कम्तीमा १५ प्रतिशत विनियोजन, बीउबिजन, मल, औषधि तथा आधुनिक औजारको सहज उपलब्धता, प्रभावकारी कृषि बीमा र डिजिटल प्रविधिमार्फत किसानलाई बजार तथा सूचनामा पहुँच दिनु रहेका छन्। उनी युवालाई कृषिमा आकर्षित गर्न उद्यमशीलता र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिन्छन्।

अर्कातिर, रिता बस्ताकोटीले लामो समयदेखि महिला, भूमिहीन र सीमान्त किसानका मुद्दामा सक्रिय रहँदै आएकी छन्। नेपालको कृषि प्रणाली क्रमशः महिलाकरण हुँदै गएकाले कृषि नीतिहरू महिलामैत्री बनाउन मन्त्रालयको जिम्मेवारी महिला नेतृत्वलाई दिनुपर्ने उनको तर्क छ। उनी कुनै पनि राजनीतिक दाग नभएकी र स्वास्थ्यकर तथा वातावरणमैत्री कृषि उत्पादनमा काम गर्दै आएकी महिला नेतृका रूपमा चिनिन्छिन्।

किसान र कृषिविद्हरूको भनाइअनुसार, नेपालको करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ। त्यसैले अबको कृषि मन्त्री किसानमैत्री, अनुभवी र समर्पित हुनुपर्छ भन्ने आवाज उठेको छ।

राष्ट्रिय कृषक समूह महासङ्घ कोशी प्रदेशकी अध्यक्ष कुसुम दाहालका अनुसार, अबको कृषि मन्त्री फाइल पढ्ने मात्र नभई किसानको धड्कन सुन्न सक्ने, दूरदर्शी, इमान्दार र प्रविधिमैत्री हुनुपर्छ। इलामकी चिया-कृषक नेतृ शर्मिला तामाङले नयाँ मन्त्रीबाट किसानलाई प्रत्यक्ष राहत र प्रोत्साहन दिने नीतिहरूको अपेक्षा गरेकी छिन्।

अधिकारी र बस्ताकोटीजस्ता व्यक्तित्वको नेतृत्वमा कृषि मन्त्रालय पुगेमा किसानका मुद्दा राष्ट्रिय नीति र कार्यक्रममा समाहित हुने र कृषिलाई समृद्धिको मेरुदण्ड बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। अबको नेतृत्वले इमान्दार, प्रविधिमैत्री र किसान-मित्र दृष्टिकोण लिएर काम गरेमा नेपालको कृषि क्षेत्रले दिगो विकासको मार्ग तय गर्ने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ