काठमाडौँ। नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १९७२ कात्तिक २४ गते जन्मिएका र २०५४ साल असोज २ गते निधन भएका गणेशमान सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको प्रतीक मानिन्छ।
गणेशमान सिंहको जीवन त्याग र समर्पणको एक ज्वलन्त उदाहरण हो। विसं २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरी नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो।
उहाँले विसं १९९७ मा प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय भूमिका खेल्नुभएको थियो। जेलबाट भागेर भारतमा पुगेपछि उहाँले बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गर्नुभयो र नेपाली राष्ट्रिय कांग्रेसको विकासमा महत्त्वपूर्ण योगदान दिनुभयो।
सिंहले विसं २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षको नेतृत्व गर्नुभयो। त्यसपछि देशमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि उहाँले जीवनभर सङ्घर्ष गर्नुभयो। विसं २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उहाँले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो।
बिपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेता बनेका गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको पनि नेतृत्व गर्नुभयो। विसं १९९७ देखि निरन्तर राजनीतिमा सक्रिय उहाँले २०४६ सालको जनआन्दोलनमा कम्युनिस्ट पार्टीहरूसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्नुभएको थियो।
गणेशमान सिंहको २८औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। यस अवसरमा शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण कार्यक्रम राखिएको छ।