‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते
न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’
एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब मान्छेले आफ्नो कर्म छोड्छ न उसलाई निस्कर्मता न उसलाई सिद्धी प्राप्त हुन्छ ।
विसं २००६ को अन्त्यतिर राणाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा राणा शासकहरूले गणेशमान सिंहलाई ठोरीको जङ्गलबाट समाएर जेल हाले । त्यसपछि राणा शासकका अघि उहाँलाई केरकार गर्न थालियो र राणा न्यायाधीश हरिशमशेरलाई ‘महाराज’ नभनेर गणेशमानले ‘तँ’ भन्नुभयो । त्यही बेलै न्यायाधीशको ठाडो आदेशमा उनलाई हजार कोर्रा हान्ने आदेश भयो । त्यसका लागि गणेशमानले आफूलाई पहिलादेखि नै तयार पारिसकेका थिए । राणा सिपाहीहरूले छ सय कोर्रा हान्दासम्म गणेशमानले सहिरहनुभयो । त्यसपछि भने उहाँ बेहोस हुनुभयो । त्यही बेलादेखि अहिलेसम्म सायद सधैंँसधैंँ गणेशमानजी ‘लौहपुरुष’ भनेर चिनिइरहनु हुनेछ ।
राणा शासक र त्यो शासनविरुद्ध विद्रोह गरेवापत गणेशमानले भोगेको यी कुनै पहिलो र अन्तिम सजायका कोर्रा थिएनन् । तथापि राष्ट्र, जनता अनि प्रजातन्त्रका लागि उहाँले थाल्नुभएको त्यो सङ्घर्षलाई उहाँले कहिल्यै त्याग गर्नु भएन । बाटाहरू बदलिए होलान्, लडाइँका स्वरुपहरू फेरिए होलान् तर उहाँले आफ्नो लक्ष्यमा आफूलाई कहिल्यै बिचलित पार्नु भएन । कहिल्यै विचलन हुनु भएन । विद्रोहको ‘स्पात’ बनेको एउटा योद्धाका लागि यो जीवन सूत्र नै हो । जीवन हरेक पलहरू गणेशमानजीले प्रजातन्त्रकै लागि त्याग, समर्पण, विद्रोह र सङ्घर्षमै बिताउनुभयो ।
विद्रोहको चेत त उहाँले जन्मजात नै लिएर आउनुभएको थियो । राणा शासकको जागिरे उहाँका पितापुर्खाको बिरासतलाई उहाँले विद्रोह गरेर त्याग्नुभयो र स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन अर्पण गर्नुभयो । सुब्बा ज्ञानमान सिंह र सुभद्राकुमारीको जेठो सन्तानका रुपमा १९७२ कात्तिक २४ काठमाडौँमै जन्मिनुभएका गणेशमानलाई उहाँका परिवारले प्रेम गरेर ‘हिराकाजी’ नामले बोलाउँथे । त्यो भनेको उहाँको परिवार ‘काजी’को उपाधिप्राप्त थियो । उहाँका हजुरबुवा राणा सरकारको सरदर हुँदै बडाकाजीसम्म हुनुभएको थियो । र उहाँका पिता ज्ञानबहादुरको मृत्यु हुँदा गणेशमानजीहरू सानै हुनुहुन्थ्यो । उहाँका बडाकाजी हजुरबुबा रत्नमानकै छत्रछायाँमा उहाँ हुर्किनुभएको थियो ।
काठमाडौंको काजी खानदान । राणा शासनमा बेग्लै छाँट थियो । अलग्गै ठाँट थियो । तर गणेशमानजीको कलिलो मस्तिष्कमै विद्रोह र स्वाभिमानको चेत भरिइसकेको थियो । उहाँको शिक्षादीक्षा दरबार हाइस्कुलमा सुरु भएको थियो । त्यो स्कुलमा राणा र राणा शासकहरूका उच्चपदस्थ कारिन्दाहरूका छोराछोरीले पढ्न पाउँथे । बडाकाजीका नाति भएका कारण गणेशमानजी पनि त्यो स्कुलमा भर्ना हुन पाउनुभएको थियो । त्यहाँ धेरैजसो त राणाहरूका छोरा, नाति पढ्न आउँथे । गणेशमानजीले राणाका ती छोरा नातिहरूलाई कहिल्यै ‘सरकार’ भनेर पुकार्नु भएन र त्यही ‘अनादर’ गरेका कारण उहाँलाई राणाहरूले स्कुलबाट निकालिदिए । त्यसको केही समयपछि उहाँ राणाहरूकै ‘बहिदार’का रुपमा जागिर पाउनुभयो ।
एकदिन राणाको दरबारअघि उहाँ साइकल कुदाएको आरोपमा उहाँलाई सजाय दिइयो । राणाका अघि ठाँटले हिँडनु, कुद्नु भनेको उनीहरूको अपमान गरे सरह मानिन्थ्यो । तर पनि गणेशमानजी झुक्नुभएन । बरु उहाँले राणाको जागिर छोडिदिनुभयो र त्यसपछि उहाँ कोलकाता जानुभयो । त्यहीँबाट उहाँले मेट्रिक (एसएलसी) पास पनि गर्नुभयो । त्यहाँकै विद्यासागर कलेजमा पढ्दापढ्दै उहाँका पाइलाहरू राजनीतितिर मोडिएका थिए । त्यसपछि उहाँका पाइलाहरू कहिल्यै पछाडि फर्किएनन्, बरु राणा शासनविरुद्ध उहाँले आफूले आफूलाई सधैँ अग्रमोर्चामै उभ्याउनुभयो ।
उच्च शिक्षाको अध्ययन गर्दागर्दै घरबिदामा आउनुभएका गणेशमान सिंहले १९९७ सालमा राष्ट्रिय प्रजा परिषद्मा आबद्ध हुनुभएको थियो । यो नेपालकै पहिलो राजनीतिक दल भनेर चिनिन्छ । राजनीतिक जीवनसँगै उहाँको वैवाहिक जीवन पनि सुरु भएको थियो । त्यही वर्ष हजुरबुवा र आमाको आग्रहमा उहाँको विवाह मङ्गलादेवीसँग भयो । विवाहको लगभग तीन महिनापछि उहाँलाई राणा सरकारले फेरि गिरफ्तार ग¥यो । सरकारविरुद्ध जनतालाई उक्साएको आरोपमा उहाँलाई राणा शासकले सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएका थिए । उहाँसँगै गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई पनि राणाले जेल हालेका थिए । यी चारजनालाई राणाले झुन्ड्याएर अनि गोली ठोकेर मृत्युदण्ड दिए । उहाँहरू नेपालका अजर अमर सहिदका रुपमा इतिहासले सधँै चिनाइरहेको छ ।
राणा शासकप्रतिको एकप्रकारको घृणा अनि प्रजातन्त्रका लागि विद्रोहले खारिनुभएका गणेशमानलाई ती जेलका पर्खालहरूले के छेक्न सक्थे र ! भद्रगोल जेल पर्खाल फोडेर उहाँ त्यहाँबाट मुक्त हुनुभयो । त्यसपछि राणाले देश निकाला गरेका भारतमा निर्वासित नेपाली विद्रोहीहरूसँग मिलेर उतैबाट नेपालमा राणा विरोधी आन्दोलनमा आफ्नो उपस्थिति जनाउनुभयो । राणाविरुद्ध सङ्घर्षकालको त्यो बेला उहाँलाई भूमिगत नाम ‘कृष्णबहादुर प्रधान’को नामले चिनिनुहुन्थ्यो ।
कोलकातामा २००१ सालतिर बिपी कोइरालासँग भेट भएपछि गणेशमान पनि बिपीसँगै राणा विरोधी आन्दोलनमा आफूलाई सक्रिय बनाउनुभएको थियो । २००३ सालमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्ये गणेशमान पनि एक पात्र हुनुहुन्छ । २००६ सालमा सुवर्णसमशेर नेतृत्वको प्रजातान्त्रिक कांग्रेससँगको एकीकरणपछि बनेको अहिलेको ‘नेपाली कांग्रेस’ हो । जसको गर्भास्थानमा गणेशमानहरूकै नाम रगतले लेखिएको थियो ।
२००७ सालमा भारतको बिहारमा भएको नेपाली कांग्रेसको ‘बैरगनिया’ सम्मेलन राणा शासन अन्त्यका लागि एउटा निर्णायक प्रस्थानबिन्दु बन्यो । जहाँ बिपी, गणेशमान, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, खड्गजीत बराल र बहादुर सिंहजस्ता नेपाली कांग्रेसका बलिया खम्बाहरू हुनुहुन्थ्यो । त्यही सम्मेलनमा उहाँहरूले ‘कि राणा शासनको अन्त्य गर्ने, कि आफूहरूको अन्त्य हुने’ कसम लिनुभयो र जहाँनिया राणा शासनविरुद्ध निर्णायक क्रान्तिको सुरुआत गर्नुभयो । फलतः २००७ फागनु ७ गते १०४ वर्षे राणा शासनको अन्त्य भयो र देशमा प्रजातन्त्र आयो ।
२००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गणेशमानले बिपीको निर्देशनमा मन्त्री पद त्याग गर्नुभएको थियो । २०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह पराजित हुनुभयो । त्यो महाधिवेशनले सुवर्णसमशेरलाई पार्टीको सभापति छानेको थियो । २०१४ सालमा भएको ‘भद्र अवज्ञा’ आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनुभएको गणेशमान सिंह २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा काठमाडौंँबाट सांसदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा उहाँ यातायातमन्त्री हुनुभएको थियो ।
नेपालीले प्रजातान्त्रिक अभ्यास गर्दागर्दै त्यो कलिलो प्रजातन्त्रको घाँटीमा दरबार झुन्डियो । र फेरि बिपी अनि गणेशमानहरूलाई राजा महेन्द्रले जेल हाले । २०१७ सालदेखि लगातार आठ वर्षसम्म उहाँ सुन्दरीजेलमा हुनुहुन्थ्यो । जेलबाट रिहा भएपछि उहाँ पनि निर्वासित हुनुभयो र फेरि प्रवासबाटै देशको पञ्चायती निरङ्कुशताविरुद्ध आन्दोलनमा होमिनुभयो । २०३३ सालमा मेलमिलापको नीति लिएर देश फर्किएका बिपी र गणेशमानलाई विमानस्थलबाटै पञ्चायती सरकारले गिरफ्तार गरेको थियो । त्यो बेला उहाँलाई क्रुर शारिरीक यातना दिइएको थियो । उहाँमाथि राजकाजको मुद्दा चलाइयो र पञ्चहरूले बिपी अनि गणेशमानलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए । उहाँलाई पञ्चायती सरकारले चारपटकसम्म मृत्युदण्डको सजाय सुनाएको थियो ।
विसं २०३७ को जनमत सङ्ग्रहमा गणेशमान र बिपीबीच मतभेद भएको थियो । बिपीले त्यो जनमत सङ्ग्रहमा बिनाशर्त सहभागी हुने प्रस्ताव राख्नुभएको थियो तर गणेशमान भने त्यसको विरोधमा हुनुहुन्थ्यो । बिडम्बना त्यो जनमत सङ्ग्रहमा पञ्चहरूको धाँधलीका कारण बहुदल पराजित भयो । २०३९ सालमा बिपीको निधन भयो र नेपाली कांग्रेसले उहाँलाई ‘सर्वोच्च’ नेताको मानार्थ जिम्मेवारी दियो । त्यसअघि २०३७ सालमै भारतको पटनामा भएको कांग्रेसको सम्मेलनले उहाँलाई पार्टीको ‘नेता’ छानिसकेको थियो ।
बिपीको निधनपछि २०४२ सालमा उहाँकै नेतृत्वमा नेपाली कांग्रेसले मेलमिलाप नीतिलाई पुर्नव्याख्या ग¥यो र त्यसपछि गणेशमानले ‘सत्याग्रह’को नेतृत्व गर्नुभयो । २०४६ सालको चैत ५,६ र ७ गते सिंहकै निवासमा भएको नेपाली कांग्रेसको सम्मेलनले जनआन्दोलनको घोषणा गरेको थियो । त्यो जनआन्दोलनलाई तत्कालीन छ वटा कम्युनिस्ट पार्टीहरूले पनि समर्थन गरे र गणेशमानलाई त्यो जनआन्दोलनको सर्वोच्च कमाण्डर स्वीकार गरे । त्यही बेला फेरि पञ्चायती सरकारले उहाँलाई घरमै नजरबन्द ग¥यो । उहाँ बिरामी भएपछि पनि अस्पतालमै नजरबन्द गरियो । २०४६ साल चैतमा उहाँहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । त्यो बिजयोत्सव मनाउनका लागि टुँडिखेलमा भएको विशाल जनसभाले गणेशमानलाई ‘फादर अफ दि डेमोक्रेसी’ अर्थात प्रजातन्त्रका पिता भनेर सम्मान दिइएको थियो ।
जनआन्दोलनपछि गठन हुन लागेको अन्तरिम सरकारमा प्रधानमन्त्री हुन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको प्रस्तावलाई गणेशमानजीले अस्वीकार गर्नुभएको थियो । बरु आफ्ना समकालीन कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभयो । यसरी जीवनभरि राष्ट्र र प्रजातन्त्रका लागि त्याग, सङ्घर्ष र विद्रोह गर्नुभएका नेता गणेशमान सिंहले कहिल्यै उच्च पदको लालसा राख्नभएन ।
यसको अर्थ हुन्छ, ‘एउटा कुल रक्षाका निम्ति कुनै व्यक्तिलाई छोड्नू, एउटा गाउँको भलोका लागि कूलको त्याग गर्नसम्म पछि नपर्नू, अनि देशको हित हुन्छ भने गाउँ त्याग गरिदिनू र आत्मसम्मानका लागि बरु यो धर्ती नै त्याग गरिदिनू’ ।
जीवनको उत्तराद्र्धमा उहाँले भोग्नुपरेको पारिवारिक वियोगको पीडा अनि राजनीतिक जीवनको बिरक्तिले उहाँलाई केही शिथिल पनि बनाएको थियो । प्रजातन्त्रिक लडाइँका लागि आफूलाई सुम्पिनुभएका गणेशमानजीले बरु आफ्नो घरसंसार त्याग्नुभयो, आफन्त अनि देश त्याग्नुभयो तर स्वाभिमान र आत्मसम्मान अनि प्रजातन्त्रका लागि कहिल्यै झुक्नुभएन । यसरी नेपाली राजनीतिको लौहपुरुष अनि प्रजातन्त्रका पिता गणेशमानजी २०५४ साल असोज २ गते सदाका लागि हामीमाझबाट महाप्रस्थान हुनुभयो । लौहपुरुष गणेशमानप्रति हार्दिक श्रद्धाञ्जलि । (लेखक राजनीतिक विश्लेषक हुन्)