arrow

दम्भले देश जल्यो, अरुलाई आरोप लगाएर उन्मुक्ति मिल्ला र ? 

logo
सोमराज पोखरेल, 
प्रकाशित २०८२ असोज १ बुधबार
somraj-pokharel-82-6-1.jpg

काठमाडौँ । जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई क्षणभरमै ढाल्यो । ओली नेतृत्वको सरकारले जनतामाथि गरेको अत्याचारको घडा भरिएको थियो । त्यसको अन्त्य हुनुपर्ने थियो । अन्ततः भयो नै । यो जनतामाथि गरेको अन्याय र अत्याचारको पराकाष्ठा थियो । 

यो एकदिनमा भएको अवश्य होइन । किनकि मुलुकले यसअघि नै केपी ओलीको तीन पटक नेतृत्व भोगिसकेको थियो । विवादित निर्णय गर्ने, अध्यादेशको प्रयोग बढी गर्ने, जनभावनाको कदर नगर्ने, भ्रष्टाचार गर्दिन भन्ने तर सबैभन्दा बढी भ्रष्ट सरकारमा गनिने काम ओली सरकारकै पालामा भएको थियो । 

त्यसैले पनि चौथो कार्यकालमा सुधार होला भन्ने त थियो तर अझ खराब भइछाड्यो । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई उद्दण्ड बनाउने काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गरेका हुन् । 

यिनै तीन दलका प्रमुखहरूमध्ये दुई जना मिलेर सरकार चलाउँछन् अनि एउटालाई प्रमुख प्रतिपक्षमा राख्छन् । यसरी यी तीन जना बाहेक कुनै पनि काममा भागबण्डा गर्न परेकै छैन । 

दुई कम्युनिष्ट पार्टीका नेताहरू सर्वहारा वर्गको उत्थान गर्नुको सट्टा सर्वहारालाई देशबाटै पलायन गर्ने नीतिमा अग्रसर रहे । जसका कारण यिनीहरूको डर, त्रास र धम्कीले युवा पलायन हुन बाध्य रह्यो । 

प्रजातान्त्रिक पार्टी मानिएको कांग्रेसको नेतृत्वले भने कम्युनिष्टको साथ दिएर र कम्युनिष्टलाई साथमा लिएर हिँडेर आफ्नो नीति नै बिर्सियो । देउवा नीतिविहीन रहँदै कहिले एमाले र कहिले माओवादीलाई सघाउँदै हिँडे । 

यिनीहरूकै कारणले मुलुकले आज अनाहकमा ७२ जनाको ज्यान गुमाउनु पर्यो । मुलुक आज शोकमा रहनु पर्यो । अनि इतिहास बोकेका भवनहरूमा आगो झोसिनु पर्यो । जसको राग उनीहरूको घरसम्मै पुग्यो । घर ध्वस्त पारिँदा उनीहरूले लुटेका, शोषण गरेका र भ्रष्टाचार गरेका कयौँ अमूल्य वस्तु खरानी बन्न पुगे । 

दोष विदेशी शक्तिलाई ?
यिनै तीन दलका शीर्ष नेताका कारणले मुलुकले आज यति ठूलो जनधनको क्षति बेहोर्नु पर्यो । र पनि उनीहरूमा चेत आउन सकेको छैन । उल्टै उनीहरू घुसपैठ भएको र नेपालको सार्वभौमसत्तामाथि विदेशीको हस्तक्षेप रहेको बताउन थालिसकेका छन् । यस्तो लाग्छ उनीहरू सक्किएलान् तर सच्चिदैनन् । 

देउवा पाँच पटक, ओली चार पटक र प्रचण्ड तीन पटक प्रधानमन्त्री भएर मुलुकको दीगो विकास र शान्तिका लागि के गरे ? बृहत शान्ति सम्झौताका नाममा भ्रष्टाचार गरे । त्यसैलाई राजनीतिको एजेन्डा बनाएर लुट्नसम्म लुटे भन्ने आरोप संसारभर छ । 

हुँदाहुँदा जेन–जी पुस्तालाईसमेत हेप्न भ्याए । अनि जेन–जीले त यतिधेरै कायापलट गर्न सक्दैन भनेर अशान्ति मच्याउने काममा अहिले भारत, अमेरिका, युरोपियन युनियन, दरबारिया लगायतको हात रहेको ओकलिरहेका छन् । 

उनीहरू आफू सुध्रिने फेरि कुनै संकेत दिएनन् । जेन–जीले कसैलाई मार्न खोजेको हैन । तर नेताहरूको यो फेरि वर्वरताले जेन–जीले ओहो गल्ती भएछ भनेर टाउको समाउने दिन पनि आउन सक्छ । 

सत्ता र शक्तिमा भएका बेलामा आँखा चिम्लेर जनतामाथि ताकी ताकी टाउको र छातीमा गोली हान्नेलाई मौका मिले जनताले पनि नहान्लान् भन्न सकिन्न ।

खासमा जनताको कुरा नसुनेकै कारण अशान्तिलाई भड्काउने काम भ्रष्ट सरकारले नै गरेको हो । भ्रष्टाचार भनेको छन्छनी गनेर खाने पैसामात्र हैन । ओली सरकारले त जनमानसमाथि खेल्ने भ्रष्ट नीति नै ल्यायो । सरकार आफ्नो कर्तव्यबाट पन्छिनु पनि भ्रष्टाचार नै हो । 

सामाजिक सञ्जालबाट जेन–जीहरूले आफ्ना आवाज सरकारसम्म पुर्याउन खोजे । ओलीले उनीहरूको आवाजलाई नजरअन्दाज गरे । सामाजिक सञ्जालको प्रयोग गरेर उनीहरूले आन्दोलनको योजना बुने । त्यसलाई नै बन्द गरेर ओलीले आफू सफल प्रधानमन्त्री भएको दाबी गरे । 

भदौ २३ गते दिउँसो एकै क्षणमा १९ जनाको ज्यान लिँदासमेत कुनै ग्लानिबोध नगरेका ओलीले २३ गते साँझ बसेको मन्त्रिपरिषदको बैठकमा आफूलाई सशक्त प्रधानमन्त्री भएको भन्दै सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिने अठोट गरिरहे । उनले उल्टै जेन–जी आन्दोलनमा घुसपैठ भएर यसरी आन्दोलन भड्कियो भने । आफ्नो घर जल्दा पनि घुसपैठ भने । सिंहदरबार जल्दा पनि घुसपैठ नै भने । 

घुसपैठ नै भयो रे । कुनै विदेशी आएर यो तहसनहस पारेको त हैन । पारेको त नेपालीले नै हो । सत्ताको रसास्वादन गर्ने अनि कहिल्यै पनि देश विकास र जनताका काम नगर्ने अवसरवादी अधिकांशका घर जले । यसबाट बुझ्नु पर्ने थियो आफूहरू सच्चिनु पर्नेछ । तर यस्तो लाग्छ सक्किएलान् सच्चिदैनन् । 

चुनाव आइसक्यो सच्चिने नामोनिशान छैन 
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिसकेको छ । 

चुनाव आइसकेको छ । आफ्ना दलका इमानदार नेता कार्यकर्तालाई अगाडि बढाएर पार्टी सुदृढ गर्नु त कता हो कता तीन दलले चुनाव नै भाँड्ने संकेत गर्दैैछन् । नेतृत्वले नेतृत्व छाडेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर नयाँ कार्यादेशसहित अगाडि बढ्नु पर्नेमा सत्ता र शक्तिबाट हटेको पीरको दोष विदेशीलाई थोपर्नु नालायकी नै हो । 

आफू सत्तामा छँदा विदेशीको आशीर्वाद खोजिरहने अनि सत्ता बाहिर भएपछि विदेशीकै हात रहेको भनेर भन्नु नालायकी हो । तीन नेताले तत्काल विश्राम लिने हो भने उनीहरूका पार्टीका युवा नेताले केही आशा जगाउन सक्थे होला । चुनावमा यिनीहरूकै आशीर्वाद लिएर जाने हो भने कसैले पनि जित्लान् जस्तो लाग्दैन । किनकि नेता बन्न लायकमात्र चुनावमा होमिने हो । 

जेन–जी पुस्ता विदेश पलायन हुनुपर्ने अनि यिनीहरूका छोरानातिको जीवन हाइफाइले भरिरहेको सामाजिक सञ्जालबाटै देख्नुपर्ने भएपछि जेन–जी पुस्ताले सहने प्रश्नै आउँदैन । यिनै शीर्ष नेताका अघिपछि हिँड्ने नेता र उनीहरूका परिवारसमेत सम्भ्रान्त देखिँदै आएका थिए । यसबाटै प्रष्ट हुन्छ यिनीहरू कति भ्रष्ट छन् । 

जेन–जी पुस्तामात्र हैन सोच पनि हो । यो सोचले कसैलाई भ्रष्ट हुन दिँदैन । जेन–जीलाई पनि राम्रोसँग थाहा छ कि राजनीति सेवा हो कुनै व्यवसाय होइन । 

तीन दलका शीर्ष नेताहरू भ्रष्टाचार भन्दा बाहिर निस्कनै सकेनन् । अझ ओलीलाई त ट्रान्सपरेन्सी इन्टरनेशलले सबैभन्दा भ्रष्ट प्रधानमन्त्री भनेर प्रमाणित नै गरिदिएको थियो । ओलीले राजीनामा दिएर भदौ २४ गते बिदा हुनु दुई दिनअघिमात्र एमालेको एकलौटी सरकार भए दश वर्षमा मुलुकको विकासमा कायापलट गरिदिने भन्दै थिए । दुःखद पक्ष आफैँ कायापलट भए ।

यही स्वार्थकै कारण तीन दलका नेता एवं उनीहरूकै आसेपासेहरूले जेन–जीको आन्दोलनलाई उचालिरहेका थिए । ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश भन्नसमेत भ्याए । उनीहरूले आन्दोलन सल्काउन पेट्रोल छर्कने काम गरे । 

तिनै मट्याङ्गासँग डराएर ओलीले छानीछानी गोली हाने । देउवा र प्रचण्ड साक्षी बसे । त्यसको परिणाम त्यही मट्याङ्ग्राले नै उनीहरूको सत्यानाश भयो । 

ओली कतिसम्म निस्किए असक्षम ?
नेपाली राजनीतिमा केपी शर्मा ओली साँच्चिकै नालायक निस्किए । नेपाली राजनीतिका कुनै पनि परिवर्तनमा ओलीको नेतृत्वकारी भूमिका छैन । ०६२–६३ को आन्दोलनमा समेत उनले सहभागिता जनाएनन् । ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेर गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालहरूले रत्नपार्कमा गएर आन्दोलन गरिरहँदा व्यङ्ग्य कसेका थिए । 

पछि लोकतन्त्रको सबैभन्दा बढी फाइदा उठाउने अवसरवादी उनै ठहरिए । लोकतन्त्र आएपछि चार पटक प्रधानमन्त्री पद चड्काए । पार्टीलाई तहसनहस पारे । पार्टी पनि चिराचिरा बनाए । अहम् अझ उर्लदो छ । उनका आसेपासेको त कुरै नगरौँ । 

जेन–जी आन्दोलनका कारण केही दिन सुस्ताएका उनीहरू फेरि सामाजिक सञ्जालमा कुर्लन थालेका छन् । सम्भवतः जेन–जी आक्रोशको बतास उनीहरू सामु अझै पुगेन क्यार । 

खासमा केपी ओलीको दम्भले देश जल्यो र अझै पनि अरुलाई आरोप लगाएर उन्मुक्ति लिन खोजिरहेका छन् । एमालेका सुझबुझ भएका नेताहरूले उनको पछि लागेर प्रतिक्रिया दिन छाडेका छन् । जेन–जीका सही मागलाई सम्बोधन गर्नुपर्ने बताइरहेका छन् । फागुन २१ को चुनावमा तयारीका साथ जानुपर्ने बताएका छन् । 

ओली त पूर्वराष्ट्रपति एवं एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई एमालेमा फर्कनसमेत नदिने अध्यक्ष परे । विधान महाधिवेशनमा आफ्नो विरोध होला भनेर त्यही मौकामा भदौ १९ गते नै सामाजिक सञ्जाल बन्द लगाए । त्यसको असर सिंगो मुलुक जलिरह्यो । 

सुरक्षाका कसैले पनि गरेका थिएनन् भरोसा 
केपी ओली सुरक्षाकर्मीहरूसँग रमाइलो गर्थे । उनका थुप्रै सल्लाहकार थिए । ती सबै आफ्नो स्वार्थमा व्यस्त भए । जसका कारण मुलुकमा यतिठूलो आँधिबेहरी आउँदैछ भन्ने उनले पत्तो नै पाउन सकेनन् । 

उनकै निहितमा रहेका सुरक्षाका चार निकायले काम गर्छन् । ओलीलाई केही पनि थाहा हुँदैन । न सेना, न पुलिस, न सशस्त्र र न राष्ट्रिय अनुसन्धान विभाग । संकेत पाए पनि ओलीलाई थाहा नदिइनु भनेको ओलीको भरोसा नभएरै पनि हुन सक्छ । ओलीका सल्लाहकारलाई थाहा भए पनि नभनेका हुन सक्छन् । वा ओलीको अत्याचारको अन्त्य हुनुपर्छ भन्ने लागेरै कसैले सहयोग गरेनन् । जे पनि हुन सक्छ । यस्तो लाग्छ उनी प्रधानमन्त्री बन्न लायक नै रहेनछन् । नत्र प्रधानमन्त्रीलाई देशको वस्तुस्थिति थाहा हुनुपर्छ । 

भारतीय रअको सामान्य कर्मचारीलाई थाहा हुने तर उनलाई थाहा नहुने भन्नुको मतलब के हो ? ओलीलाई केही पनि थाहा नहुँदा उनले भदौ २३ गते रातिसम्म पनि दम्भ पालिरहे । अर्को दिन सेनाको हेलिकोप्टरमा सुरक्षित स्थलमा भाग्नुपर्यो । योभन्दा दुःखद पक्ष के होला । उनी एमालेका उनी नजिकका सबैका ‘बा’ थिए । उनले सबै एमालेको बा बन्न सकेनन् । बन्थे भने विद्यालाई रोक्ने थिएनन् । उनी देशकै ‘बा’ बन्ने राजनेताको लक्षण कहिल्यै ल्याएनन् । उनी चीनमा रहेका बेलामा क्याम्पेन गरेर देशभक्त देखाउने एमालेजनले उनको घरसमेत जोगाउन सकेनन् । न त देउवा वा प्रचण्डकै जोगाउन सके । 

आखिर म नै अन्तिम सत्य भन्ने अहम् पालेर बसेकै कारण आजको दिन देख्नु परेको हो । दम्भले देश जलेको यथार्थ हो । यसलाई आत्मसात् नजरी अरुलाई आरोप लगाएर उन्मुक्ति मिल्दैन । गल्तीको सजाय त भोग्न बाँकी नै छ । 

हरेक दलका जेन–जी पुस्तालाई अवसर दिने हो भने उनीहरूले पनि असल काम गरेर देखाउन सक्छन् भन्ने विश्वास गरेर अगाडि बढ्ने कि अझै दम्भ गरेर बस्ने ?

हरेक अँधेरी रातपछि बिहानी आउँछ । सबै दलमा राम्रा र सक्षम नेता पनि छन् । अब उनीहरू अगाडि आएर फागुन २१ को चुनावलाई सफल पार्नुपर्ने छ । नयाँ सोचका साथ गन्तव्य तय गर्नुपर्नेछ । गुणदोषको जिम्मा नलिने गैरजिम्मेवार नेताहरूको छत्रछायाँलाई जतिसक्यो छिटो हटाउनु नै उत्तम समाधान हो । राजनीति दम्भ पालेर हैन सहिष्णु र भाइचारा सम्बन्ध राखेर गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ