arrow

प्रधानमन्त्रीज्यू विदेशमा अदुवाको बजार राम्रो छ, निकासीको बाटो खोजौँ

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ असोज १ बुधबार
badri-ojha-82-6-1.jpg

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! तपाईं ठूलो परिवर्तनपछि सरकारमा आउनुभएको छ । सबैलाई थाहै छ, देशको अवस्था नाजुक छ । खासगरी आर्थिक दृष्टिले । यस्तो बेलामा आ–आफ्नो स्तरबाट सहयोग गर्नुपर्छ । देशको अवस्थामा सुधार ल्याउनुपर्छ । 

यही सोेचेर मैले आजै खिचेको एक तस्बिरमार्फत यहाँलाई सानो सुझाव दिन चाहन्छु । सहश्राब्दी पुस्ता जेन–जीको यत्रो बलिदानपछि यहाँले बागडोर सम्हालेकाले अब म जस्ता सर्वसाधारणको बोली पनि सुनिएला भनेर यो पत्र लेख्दैछु । 

प्रधानमन्त्री ब्यस्त हुनु स्वभाविकै हो, त्यसमा पनि यस्तो अन्तरिमकालमा अझ बढी काम हुन्छ । त्यसैले यो लेख पढ्ने जो कोही अझ खास गरी जेन–जी पुस्ताका भतिजा भतिजीलाई यसबारे प्रधानमन्त्रीलाई सुनाइ दिन अनुरोध गर्दछु । 

यो तस्बिर मैले सिड्नीको भारी नेपाली बस्ती रहेको सानो शहर रकडेलमा खिचेको हो । यहाँ प्रस्ट देखिन्छ, अदुवाको दाम १९.९ डलर प्रतिकेजी छ । यो सस्तो दाम हो भन्छन्, यहाँ साथीहरू । दाम बढेका बेला ४० डलरसम्म पुग्छ रे । 
 
यसलाई आजकै सटही दरमा परिवर्तन गर्दा एक अस्ट्रेलियन डलर बराबर ९४ रुपैयाँ १२ पैसा रहेछ । यसो गर्दा आज अदुवाको भाउ १८७२.९८ रुपैयाँ पर्यो । 

आजकै दिन जर्मनीमा अदुवाको दाम ८.२७ अमेरिकी डलर रहेछ । यसलाई आजको दरमा हेर्दा ११६५.०७ नेपाली रुपैयाँ हुन्छ । 

अमेरिकामा भने १२ डलर छ । यसको नेपाली मुद्रा १६९०.५६ रुपैयाँ हुन्छ ।

जापानमा आज १०.४६ अमेरिकी डलर पर्छ । यसको पनि नेपालीमा १४७३.६० रुपैयाँ हुन्छ ।

आजकै दिनमा काठमाडौंस्थित कालीमाटी तरकारी तथा फलफूल बजारमा अदुवाको भाउ रहेछ, न्युनतम ९० रुपैयाँ, अधिकतम एक २० रुपैयाँ र औसत एक सय ६ रुपैयाँ । 

अब यसमा अलिकति कुरा गरौं । यी सबै देशमा हाम्रो देशका दूतावास छन् । ती दूतावासमार्फत नेपालको अदुवा निकासीको बाटो खोजौँ ।

शुरू गरौं, अस्ट्रेलियाबाट । बाटो उति सजिलो नहोला तर असम्भव भने छैन । किनभने यो अदुवा कुनै न कुनै देशमा फलेको हो । चाहे यसै देशमा होस्, चाहे फिजीमा होस्, वा इन्डोनेसियामा होस्, चीनमा होस् वा भारतमा । 

नेपालमा यसको उत्पादनका लागि यहाँको सरकारसँग कुरा गरौँ । वार्ता गरौँ । कस्तो उत्पादन यहाँ ल्याउन मिल्छ भन्ने छलफल गरौँ । यहाँको क्वारेनन्टिन प्रणाली विश्वमै कडा मानिन्छ । असम्भव भने होइन । 

जस्तो ग्राहकले माग्छन् त्यस्तै उत्पादन निकालौँ । नेपाल जस्तो हावापानी र माटो भएको मुलुकमा जस्तो चिज पनि उत्पादन गर्न सकिन्छ । हामीसँग वैज्ञानिक छन् । अहिले मन्त्रालयदेखि कृषि अनुसन्धान परिषद् हुँदै कृषिका विभिन्न तहका कार्यालयमा अस्ट्रेलियाबाटै विद्यावारिधि गरेका, स्नातकोत्तर गरेका विज्ञ कर्मचारी छन् । उनीहरूलाई यसबारे अध्ययन तथा अनुसन्धान गर्ने काम दिऊँ । 

अहिले उनीहरू फाइल बोकेर दौडिरहेका छन् । उनीहरूको विज्ञताले स्थान पाएको छैन । फाइल बोक्ने काम प्रशासन सेवाका कर्मचारीलाई दिऊा । कृषिका विज्ञलाई उनीहरूको विज्ञताकै क्षेत्रमा अनुसन्धान गर्न लगाऊँ । बरु आवश्यक परे यहाँकै कृषि वैज्ञानिकसँग सहयोग मागौँला । 

सामान्य अवस्थामा एक हेक्टर जमीनमा १५ देखि २० मेट्रिक टन अदुवा फल्छ । ल १५ टन नै मानौँ । सुरुका वर्षमा एक हजार हेक्टर जमीनमा माटो सुधार गरौं । संभाव्य रोग नियन्त्रण गरौं । सुरक्षित तरिकाले खेती लगाऔं । यसो गर्दा १५ हजार टन उत्पादन हुन्छ । यति अदुवा निर्यात गरौं । 
सबै खर्च कटाएर किसानका हातमा प्रतिकेजी दुई सय रुपैयाँ मात्र परे पनि उनीहरूको जीवनमा केही योगदान पुग्छ । अर्को वर्ष अलि बढाउँला । बजार खोजौंला । 

 कम से कम अरु सय रुपैयाँ ढुवानी खर्च राखौं । थप सय नाफा राख्दा पनि पाँच सय रुपैयाँ अथवा करिब ६ डलरमा हामी अदुवा दिन सक्छौँ । ल सरकारलाई अर्थतन्त्र बलियो पार्न थप सय रुपैयाँ राखौं । सात सय त पर्यो । खेती गर्ने क्रम बढेर लाख हेक्टर पुग्दा कमाइ राम्रै होला । अरु देशमा पनि बजार खोज्न सकिन्छ । सस्तोमा पाएपछि यहाँ पनि बजार बढ्ला । 

विस्तारै एक लाख हेक्टरमा अदुवा उत्पादन गरौं त । कति होला ? १५ लाख टन ? 

सार्वजनिक रुपमा प्राप्त जानकारी अनुसार यहाँको बजारमा बिक्री हुनेमध्ये ७० प्रतिशत अदुवा विदेशबाट ल्याइन्छ । हाम्रा छिमेकी भारत र चीनले यस मुलुकमा अदुवा पठाएका छन् । हामी नसकौंला र ?

अब दूतावासहरूलाई काम दिऔं । आरोप लगाइए अनुसार दूतावासहरू सक्रिय छैनन् । सत्य के हो विस्तारै खुल्दै जाला । 
अस्ति चीनको एउटा ठूलो मासु कम्पनीले नेपालको निजी कम्पनीसँग राँगाको मासु लैजाने सम्झौता गर्दा चीनका राजदूतले सहजकर्ताको भूमिका निभाएको तथ्य छ । 

त्यस्तै इजरायली राजदूत नेपालमा रहँदा कृषि प्रविधिको व्यापार विस्तारका लागि दिनरात खटिएका उदाहरण छन् । हाम्रा राजदूतहरू, दूतावासका कर्मचारीहरूले पनि उनीहरूबाट सिके हुन्न र ?

अब हामीलाई आर्थिक विकास चाहिएको छ । 

आँप, मह, कफी, चिया, अलैंची, टिमूर तथा अनगिन्ती जडिबुटीलगायत उच्चमूल्य बालीहरूको उत्पादन वृद्धि गर्न सकिन्छ । ती वस्तुहरू निर्यात गर्न सकिन्छ । 

ती विषयमा हामी श्रृंखलावद्ध रुपमा चर्चा गरौँला । हाललाई अदुवाबाट शुरू गरौँ । हाम्रै पालामा देश धनी बनाउन सकिन्छ । शुरूआत अदुवाबाट गरौँ । (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ