सिंहदरबार परिसरबाट जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
1k
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनहरूलाई तुरुन्त हटाएर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
मन्त्री घिसिङको सचिवालयले दिएको जानकारीअनुसार, जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले त्यसलाई सुन्दर बनाउनका लागि यस्तो निर्देशन दिइएको हो। उनले भने, "कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन। बाहिरी भागलाई कुरूप हुन दिनु भएन, यथाशक्य छिटो राम्रो बनाऔँ।"
उनले क्षतिग्रस्त सवारीसाधन हटाउनुका साथै, सामान्य आगलागी भएका भवनको बाहिरी भागमा रङरोगन गर्ने र क्षतिको तत्काल मूल्याङ्कन गर्ने काममा जुट्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्।
मन्त्री घिसिङले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि 'हाम्रा संरचना हामी आफैँ बनाऔँ' अभियान सुरु गरिने बताएका छन्। यस अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने उनले स्पष्ट पारेका छन्।
सहरी विकास मन्त्रालयले आफ्ना मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ।