arrow

बल प्रयोगको घटना छानबिनलाई पहिलो प्राथमिकता: गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
omprakash-aryal1.jpg

काठमाडौं। गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सो कुरा बताएका हुन्।

गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनलाई 'जनविद्रोह' को संज्ञा दिँदै यसले मुलुकलाई सामान्य अवस्थामा फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन सरकारले उक्त घटनाको छानबिनलाई प्राथमिकता दिनुपर्ने बताए। आन्दोलनका क्रममा भएको धनजनको क्षतिलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए।

“युद्ध हुन्छ, युद्धको कानुन हुन्छ। यहाँ सुरक्षा क्षेत्रकै सरहरू, म्याडमहरू हुनुहुन्छ। विद्रोह छ भने त्यसको पनि आफ्नो कानुन हुन्छ, कति गर्न पाउने, नपाउने भन्ने हुन्छ,” उनले भने। “जहाँ अधिक बल प्रयोग भएको छ, जहाँ दुरुपयोग भएको छ, त्यसको पनि जाँचबुझ हुनैपर्छ निष्पक्ष रूपमा। यसलाई गर्नैपर्छ। हाम्रै छोराछोरी मारिनुभएको छ। धनजनमा क्षति भएको छ। यसलाई हामी सबैले मिलेर सम्बोधन गर्नैपर्छ।”

गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापन, घाइतेको उपचार र परिवारलाई सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए। सरकारले शहीद घोषणा गरिसकेकाले उनीहरूको सम्मानमा कुनै कमी हुन नदिने पनि उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ