अर्थमन्त्री खनालको पहिलो निर्णय: खुद्रे आयोजना कटौती गरी एक सय अर्बको स्रोत जोहो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
908
Shares
काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजनाहरूलाई कार्यान्वयन नगर्दा एक सय अर्ब रुपैयाँको स्रोत जोहो हुने बताएका छन्। अर्थ मन्त्रालयमा सोमबार पदभार ग्रहणपछि अधिकारीहरूसँगको छलफलमा उनले यस्ता आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने आफ्नो पहिलो निर्णय भएको जानकारी दिए।
अर्थमन्त्री खनालले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने र त्यसका लागि अहिलेको बजेटमा कुनै व्यवस्था नगरिएकाले खुद्रे आयोजना कटौती गरी उक्त रकम जुटाउन लागिएको स्पष्ट पारे। उनले वर्तमान सरकार पूरक बजेट ल्याउने सोचमा नरहेको पनि बताए। राजनीतिक दबाबमा बजेटमा छिराइएका कुनै पनि आयोजनाहरूलाई अघि नबढाइने उनको भनाइ छ।
खनालले भने, “हामीसँग दुई उपाय छन्, पहिलो- बजेटभित्र रहेका फजुल खर्चका लागि गरिएका विनियोजन कटौती, दोस्रो- कुनै अध्ययन नगरी राजनीतिक दबाबमा छिराइएका आयोजनाहरूका लागि छुट्याइएको रकम निकाल्ने। यसरी हामी १०० अर्ब रुपैयाँ जति जुटाउन सक्छौं।”
यो रकम निर्वाचन र सिंहदरबार लगायतका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा खर्च गरिने उनले बताए। उनले करिब १०० जना युवाहरूको ज्यान गएपछि ठूलो परिवर्तनको अवस्था आएको र यो नासो पूरा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको उल्लेख गरे।