एमालेका कार्यकर्ता घिमिरे दुर्गा प्रसाईंको पछि लाग्दै रक्षा मन्त्रालय ताक्दै
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
7.6k
Shares
तस्बिर – प्रधानसेनापति सिग्देल र दुर्गा प्रसाईंका साथमा गणेश घिमिरे ।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको रक्षा मन्त्रीका लागि एमालेका कार्यकर्ता एवं बित्त आयोगमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले कसरत बढाएका छन् ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–१ का घिमिरे बाहिर एमाले भए पनि भित्रभित्र रक्षामन्त्री हुने भन्दै शाखा अधिकृतबाट राजीनामा दिएको पाइएको छ । एमाले सत्तामा छँदा खुवै रसास्वादन गरेका घिमिरे राजनीतिक परिवर्तनपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पछि लागेर हिँडेका छन् ।
रक्षा मन्त्रालयमा कार्यरत रहँदा हालका प्रधान सेनापति अशोकराज सिग्देल र पूर्व प्रधान सेनापति प्रभुराम शर्मासँग कनेक्सन बनाएका उनी विगत दुई वर्षदेखि दुर्गा प्रसाईंलाई भेट गराउँदै आएको खुलेको छ ।
अहिले तिनै दुर्गालाई प्रयोग गरेर उनी रक्षा मन्त्री बन्नका लागि जोडतोड गरिरहेको पाइएको छ । उनी प्रसाईंको कोटाबाट मन्त्री हुन्छु भन्दै हिँडिरहेकोसमेत पाइएको छ ।
उनी ओखलढुङ्गाका पूर्वसांसद एमाले नेता यज्ञराज सुनुवारको निकट देखाएर एमालेसँग पनि उत्तिकै लाभ लिन सफल भएका थिए । निजामती सेवामा भए पनि ठेक्कादेखि सरुवा मिलाउने बिचौलियाको काम उनले गर्दै आएको स्रोत बताउँछ ।
उनको ठगीमा मुद्दा चलेर झन्डै जागिर नै गएको थियो । एमाले नेताहरुको अनुरोधमा मुद्दा चलाउनबाट रोकी उनको जागिर जोगाइएको थियो ।
काठमाडौं गोलढुंगाको ८० रोपनी जग्गा बिक्री गरिसकेको जग्गाधनीको पूर्जा निकालेर पूर्वमन्त्री प्रेम आलेलाई बिक्री गर्न खोज्ने मुख्य नाइके शंकर चौधरी, ओखलढुङ्गा लिखु गाउँपालिका–९ का मिलन बिष्ट (होमबहादुर) र गणेश घिमिरे नै थिए ।
तर आलेसँग अनुरोध गरेर एमाले नेताहरुले घिमिरेको जागिर जोगाइदिउँ भनेपछि ठगीमा मुद्दा नचलेको स्रोतको दाबी छ । चौधरी र बिष्टविरुद्ध भने मुद्धा चलेको थियो ।
यो प्रतिनिधि उदाहरण मात्र भएको घिमिरेलाई चिन्नेहरू बताउँछन् ।