arrow

लहानमा लुटिएको खाद्यान्न फिर्ता हुन थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
lutpat-firta.jpg

सिरहा। जेन-जी आन्दोलनका क्रममा लहान नगरपालिकास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्न प्रशासनको कडा निर्देशनपछि फिर्ता हुन थालेको छ।

इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले लहानको प्रतिष्ठामा आँच आएपछि प्रशासनले खाद्यान्न फिर्ता गर्न कडा उर्दी जारी गरेको थियो। उनले फिर्ता नगर्नेलाई सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा भएका फोटो तथा भिडियोको आधारमा पहिचान गरी कानुनी कारबाही गरिने चेतावनी दिएका थिए।

स्थानीय युवाहरूको पहलमा केही व्यक्तिहरूले स्वयं आएर र केहीले उनीहरूमार्फत आइतबारदेखि खाद्यान्न फिर्ता गर्न थालेका छन्।

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार साँझसम्म ७१ क्विन्टल चामल र करिब १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ। फिर्ता गर्ने व्यक्तिहरूको नाम भने गोप्य राखिएको छ।

आन्दोलनको क्रममा गोदामबाट ८,१४८ क्विन्टल चामल, ३,२२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८,८१५ थान जुटको बोरा लुटिएको थियो। यसको अनुमानित मूल्य १० करोड ९१ लाख २२ हजार ८२७ रुपैयाँ रहेको छ। यसबाहेक, खाद्यान्न सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारको 'फ्युमिगेसन सिट', कार्यालय परिसरमा राखिएको कार र मोटरसाइकलमा आगजनी, साथै खाद्यकर्मीको क्वार्टरबाट ल्यापटप, ग्यास सिलिन्डर र मोबाइल समेत लुटिएको थियो।

यसअघि २०६३ सालको मधेस आन्दोलन सहित तीन पटक सो गोदाममा लुटपाट भइसकेको छ। यसले गर्दा आगामी दिनमा पनि यस्ता घटना दोहोरिने जोखिम रहेको स्थानीय बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ