arrow

अभियन्ता खगेन्द्र सुनार भन्छन् - सुशीला कार्कीका छोरा बनेर साथ दिन तयार छौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
khagendra-sunar-dalit-abhiyanta.jpg

काठमाडौँ । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् । 

नवगठित सरकारबारे दलित समुदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘सरकारमाथि अट्याक सुरु भइसकेको छ, पुराना राजनीतिक दलहरु फेरी व्यूतिएर भूतभुताउँदै उठेको हामीले देखेका छौँ अब ती तानाशाही, अपराधीहरुको हातमा देश जानुहुँदैन । सरकार समावेशी बन्नुपर्छ, सरकारमा सबैको प्रतिनिधित्व हुनुपर्छ । सुशीला कार्कीको अनुहार यताबाट हेर्दा मधेशीजस्तो, उताबाट पहाडी, दलित, जनजाति, हिमाली जस्तो सबैको अनुहार त्यसमा झल्किनुपर्छ ।’

उनले अब बन्ने सरकारले सबै जनतालाई न्याय दिनसक्ने कुरामा विश्वस्त रहेको पनि बताए । ‘हिजो यिनै कांग्रेस, एमाले, माओवादीको घाँटी च्यापेर निकालिएकी सुशीला कार्कीले यो कुरा बुझेकी छिन् त्यो अनुसार सबै जनतालाई न्याय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने । 

अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए । 

‘म मन्त्रीको दौडमा छैन । मेरो अभियान मन्त्री बन्ने अभियान होइन । यो देशले पहिला सास फेर्न पाउनुपर्छ । मरेकाले पहिला न्याय पाउनुपर्छ । घाइतेहरुको उपचार हुनुपर्छ । देश आगो लागेर खरानी भएको छ । यो खरानीलाई हामीले बग्न दिनुहुँदैन । खरानीबाट देशलाई माथि उठाउनुपर्छ । देश निर्माणको सन्दर्भमा हाम्रो साथ र समर्पण रहनेछ’, उनले भने ।

उनले जेन-जीहरुको आन्दोलनको उपलव्धिलाई खरानी बनाउने प्रयास हुन सक्ने भन्दै प्रधानमन्त्री कार्कीको रक्षक बन्ने पनि बताए । 

‘आन्दोलनमा लागेका जेन-जीहरुको अपमान गर्ने, जेन-जीहरु केही होइन भन्ने, यीनका नेतृत्व छैन भनि आन्दोलनका उपलव्धिलाई खरानी बनाउने त्यो खालको खतरा हुनसक्छ त्यसैले हामी सुशीला कार्कीको एउटा छोराको बनेर आमाको रक्षाका लागि नेपाल आमाको रक्षाको लागि हामी ढाल बनेर उभिने छाैँ’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ