जेन-जीलाई सम्हालिएर अघि बढ्न आग्रह गर्दै गगनले भने- हामीबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्छु [भिडियो]
भदौ २३ र २४ गतेका सबै दोषीले सजाय पाउनु पर्ने, सबैको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, संविधानको रक्षा गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
739
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुबाट भएका गल्ती कमजोरीप्रति माफी मागेका छन् । सामाजिक सञ्जालमा बिहीबार एउटा भिडियो सन्देश जारी गर्र्दै उनले आफूहरुबाट भएका गल्ती कमजोरीप्रति माफी मागेका हुन् ।
साथै नेता थापाले गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने बाचासमेत गरेका छन् । उनले गल्ती कमजोरी सच्याउनेसमेत बाचा गरेका छन् ।
त्यसो भन्दै गर्दा उनले जेन–जी समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गर्दै समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले बिग्रन दिन हुँदैन भन्दै संयमित भएर सोचिदिन आग्रह गरेका हुन् ।
उनले जेन–जीको आक्रोशलाई पनि आफूले राम्रोसँग बुझेको बताएका छन् । सोही आक्रोशलाई शान्त पार्न आफूले आफ्नो ठाउँबाट जति गर्न पर्ने थियो त्यति नगरेकामा माफी मागेका छन् ।
नेता थापा पार्टीभित्र र बाहिर जेन–जीहरुको मागलाई सम्बोधन गर्नुपर्ने र पार्टीले जेन–जीलाई साथमा लिएर हिँड्नु पर्ने बताउँदै आएका थिए ।
उनले भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफीसमेत मागेका छन् ।
नेता थापाले जेन–जीले गरेका दुई माग सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयपछि उक्त निर्णयको विरोध गरेका थिए । तर उनले गरेको मागमा केपी ओली नेतृत्वको सरकारले सुनेन ।
त्यस्तै जेन–जीले भ्रष्टाचारको बारेमा उठाएको विषयमा नेता थापाले संसददेखि पार्टीमा २०४६ सालदेखि विभिन्न पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी कारबाही गर्न माग गरेका थिए ।
उनले भदौ २३ र २४ गतेका सबै दोषीले सजाय पाउनु पर्ने बताएका छन् । सबैको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले २०४६ सालदेखि अहिलेसम्मका ओहदामा बसेका सबैको छानबिन गरी कारबाही गर्नुपर्ने आफ्नो मागलाई जेन–जी समूहले पनि अगाडि बढाउनु पर्ने बताएका छन् ।
नेता थापाले २०६२–६३ को आन्दोलनबाट प्राप्त उपलब्धिलाई ख्याल गरेर अगाडि बढ्न पनि जेन–जी समूहसँग आग्रह गरेका छन् । यसरी दुःख गरेर लेखिएको नयाँ संविधानमै टेकेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ ।
उनले जेन–जीले गरेको आन्दोलनलाई सफल पार्नका लागि सबैको साथ सहयोग लिन पनि आग्रह गरेका छन् । नेता थापाले ‘तपाईंको जेनेरेशनले नै गर्न सक्छ’ भन्दै यसलाई बिग्रन नदिइ सम्हालेर अगाडि बढ्नसमेत आग्रह गरेका छन् ।