arrow

इटहरीमा दुई जनाको मृत्यु, लगाइयो अनिश्चितकालीन कर्फ्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genz-itahari.jpg

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।  

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्ती सम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ । 

कर्फ्यु जारी गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ । इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता र प्रहरीबीच यसअघि झडप भएको थियो । 

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । 
 
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । 

भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यता सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । 

घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ