काठमाडौं। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा जेन-जी पुस्ताले आज काठमाडौंमा गरेको प्रदर्शनले उग्र रूप लिएको छ। बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रदर्शनकारीको मृत्यु हुनेको संख्या बढ्दो छ ।
प्रदर्शनकारीहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न प्रयास गरेको थियो। त्यस क्रममा प्रहरीले भीडलाई नियन्त्रणमा लिन पानीको फोहरा, अश्रुग्यास र गोली समेत चलाएको थियो। प्रहरीको गोली लागेर कयौँ प्रदर्शनकारी घाइते भएको सिभिल अस्पतालले पुष्टि गरेको छ।
प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ र शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको छ।
यसैबीच, जेन-जी नेपाल नामक फेसबुक पेजबाट प्रदर्शनकारीहरूलाई तत्काल सुरक्षित तरिकाले घर फर्कन आह्वान गरिएको छ। यस आन्दोलनको प्रभाव काठमाडौं बाहिर झापाको दमक र इटहरीलगायतका सहरहरूमा पनि देखिएको छ, जहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। दमकमा हवाई फायर भएको छ भने इटहरीमा सिभिल अस्पतालभित्र समेत प्रहरीले अश्रुग्यास प्रहार गरेको खबर आएको छ।
संसदीय समितिहरूले घटनाप्रति चासो व्यक्त गर्दै सरकारलाई आन्दोलनरत जेन-जी पुस्तासँग वार्ता गर्न निर्देशन दिएका छन्। सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेकी छन् भने मानव अधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ।
आज भएको जेन-जी पुस्ताको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदर्शनमा १९४ जना घाइते भएका छन्, जसमध्ये २२ जनाको अवस्था गम्भीर छ। घाइतेहरूको सिभिल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल, पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।