काठमाडौं। संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए, तर निजामती सेवा विधेयकमाथि 'छेडखानी' गरेको आरोपमा छानबिन समितिले दोषी ठहर्याएपछि उनले राजीनामा दिएका थिए।
संसदीय सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेपछि सो पद रिक्त भएको थियो। रिक्त पदमा नेपाली कांग्रेसका तर्फबाट खतिवडाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए।