एमाले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादमाथि छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
717
Shares
ललितपुर । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमा पार्टीको संस्थापन पक्षले व्यापक समर्थन पाएको छ। यद्यपि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयको विपक्षमा भने केही प्रतिनिधिले आफ्ना विचार राखेका छन्।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, महाधिवेशनमा २ हजार ३२१ प्रतिनिधिमध्ये केवल २५ जनाले मात्र पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने पक्षमा आफ्नो भनाइ राखेका छन्। बाँकी अधिकांशले पार्टीको निर्णयलाई समर्थन गरेका छन्।
कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकांश प्रतिनिधिले राष्ट्रपति, उपराष्ट्रपति वा प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउनु हुँदैन भन्ने विचार राखेको बताए। यो कुरा पार्टीको मात्र नभई नेपालको संविधानमै उल्लेख गर्नुपर्ने उनीहरूको सुझाव रहेको पनि खतिवडाले जानकारी दिए।
मधेश प्रदेशका ३५ जना प्रतिनिधिमध्ये ३ जनाले मात्र भण्डारीको सदस्यताको पक्षमा कुरा राखेका थिए। उनीहरूले देशको पूर्वराष्ट्रपतिले सदस्यताका लागि गरेको अपिलमा पार्टी लचिलो हुनुपर्ने भनाइ राखेका थिए। बागमती प्रदेशका अधिकांश प्रतिनिधिले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्किनु नहुने तर्क गरेका छन्। उनी अब एमालेको मात्र नभई सिङ्गो गणतान्त्रिक नेपालको गौरव भएको र सबैको अभिभावक भएर बस्नुपर्ने सुझाव उनीहरूको थियो।
लुम्बिनी प्रदेशका प्रतिनिधिहरू पनि संविधानको संरक्षक बनेका व्यक्तिलाई पार्टीको राजनीतिमा ल्याउनु हुँदैन भन्नेमा एकताबद्ध देखिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले पनि पार्टी केन्द्रको निर्णयको पक्षमा बलियो समर्थन जनाएका छन्। कर्णालीले त केन्द्रीय पदाधिकारीमा सबै प्रदेशबाट प्रतिनिधित्व हुनेपर्ने माग पनि राखेको छ।
यी छलफल र प्रतिवेदनहरूमाथि समूहको प्रस्तुति र जवाफपछि आजै महाधिवेशन समापन हुनेछ।