arrow

सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक ५० हजार भत्ता दिन अध्ययनको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
senoir-citizen.jpg

काठमाडौं। नीति तथा अनुसन्धान प्रतिष्ठानका लागि पूर्वअर्थसचिव कृष्णहरि बास्कोटाले तयार पारेको एक अध्ययन प्रतिवेदनले १०० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार, यस उमेर समूहमा ३ हजार ५६६ जना ज्येष्ठ नागरिक रहेका छन्।

प्रतिवेदनमा ज्येष्ठ नागरिकलाई उमेर समूहअनुसार भत्ताको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ:

७० देखि ७९ वर्ष: मासिक ५ हजार रुपैयाँ
८० देखि ८९ वर्ष: मासिक १० हजार रुपैयाँ
९० देखि ९९ वर्ष: मासिक २५ हजार रुपैयाँ

यी बाहेक प्रतिवेदनमा अन्य महत्त्वपूर्ण सुझावहरू पनि दिइएका छन्। ज्येष्ठ नागरिकको सम्पत्तिमा उनीहरूकै पूर्ण अधिकार सुनिश्चित गर्ने कानुन बनाउनुपर्ने, छोराछोरीको मासिक कमाइको १० देखि २५ प्रतिशतसम्म आमाबुबाले पाउने गरी कानुन निर्माण गर्ने, र १०० भन्दा बढी शय्या भएका अस्पतालमा कम्तीमा ५ वटा शय्या रहेको ‘जेरियाट्रिक वार्ड’ स्थापना गर्नुपर्ने जस्ता विषय समेटिएका छन्।

साथै, हालको १ लाखको बीमालाई क्रमशः १ लाख र १० लाख पुर्‍याउनुपर्ने, व्यवसाय वा स्वरोजगार गर्न इच्छुक ज्येष्ठ नागरिकलाई ५ लाखसम्मको सरल ब्याजदरमा ऋण दिनेगरी ‘च्यालेन्ज फन्ड’ स्थापना गर्नुपर्ने, र संघीय, प्रदेश र स्थानीय सरकारको कुल वार्षिक बजेटको ५ प्रतिशत ज्येष्ठ नागरिकको हितमा विनियोजन गर्नुपर्ने सुझाव पनि दिइएको छ।

प्रतिवेदनमा कानुनले ६० वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिक माने पनि भत्ता भने ७० वर्षभन्दा माथिकालाई मात्र दिनु कानुनी दृष्टिकोणबाट त्रुटिपूर्ण रहेको भन्दै यसमा पुनरावलोकन गर्नुपर्ने सुझाव पनि दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ