काठमाडौँ । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले दुग्ध उत्पादक कृषकको बक्यौता भुक्तानीसम्बन्धी माग सम्बोधन गर्न सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगन गरिएको घोषणा गरेको छ ।
आन्दोलन स्थगनसँगै संघले दुग्ध उत्पादक सहकारी संस्थाहरू, जिल्ला संघहरू, किसान तथा सरोकारवाला निकायलाई औपचारिक रूपमा जानकारी गराएको हो ।
संघका अनुसार केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनबीच पटक-पटक भएको वार्तामा किसानको बक्यौता भुक्तानीसहितका प्रमुख ६ बुँदामा सहमति जुटेको छ । सहमति अनुसार अब दुग्ध विकास संस्थानसहित सबै उद्योगहरूले तोकिएको समयभित्र किसानलाई भुक्तानी गर्ने, दूध खरिदमा कटौती नगर्ने तथा न्यूनतम मूल्यमा नै दूध खरीद गर्नेलगायतका बुँदा समेटिएका छन् ।
संघले पछिल्लो समय नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले आयात प्रतिस्थापनमा समेत प्रगति भएको जनाएको छ । तर, बजारको खपतभन्दा बढी उत्पादन, कोभिडपछिको मन्दी र युवा जनशक्तिको पलायनले बजारमा समस्या उत्पन्न भएको संघको भनाइ छ । यही कारण हाल डेरी उद्योगमा अर्बौको दुग्धजन्य पदार्थ मौज्दातमा रहेको छ ।
संघले दूध तथा दुग्धजन्य पदार्थको नियमित संकलन, मूल्य सुनिश्चितता, भुक्तानीको पारदर्शिता तथा आयात प्रतिस्थापनमा सरकारको सक्रियता अपेक्षा गरेको छ ।
सहमतिका मुख्य बुँदा
१. दुग्ध उत्पादक कृषकहरुलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार मसान्तसम्मको २०८२ आश्विन ५ गते भित्र गर्ने र श्रावण मसान्तसम्मको बाँकी बक्यौता रकम २०८२ आश्विन ३० गतेभित्र गरी भाद्र मसान्तसम्मको बाँकी बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गरी त्यस उप्रान्त नियमित रुपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोही बमोजिम गर्ने ।
२. हाल दुग्ध उत्पादक सहकारी संघ/संस्थहरुबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दुध लिनेदिने ।
३. नेपाल सरकारले तोकेको कृषकको दूधको न्यूनतम खरीद मूल्यमा देशैभरका उद्योगहरुबाट दूध खरीद गर्ने, गराउने ।
४. एसएमपि तथा बटर मौज्दातको विवरण एकमुष्ठ रुपमा उल्लेख गरी सम्झौताको मितिले १० दिन भित्र यस केन्द्रीय दुग्ध सहकारी संघमा पठाउने ।
५. उद्योगीले बार्षिक के कति दूध संकलन गरी कन्भर्सन गरेका छन् सोको विवरण उल्लेख गरी एकमुष्ठ रुपमा राख्नुपर्नेछ ।
६.सम्झौता बमोजिम भुक्तानी नगर्ने उद्योगी सदस्यहरुको हकमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन साथै दुग्ध विकास संस्थान जबाफदेही हुनेछ ।