संविधान कार्यान्वयनका लागि कानूनी सुधार सरकारको प्राथमिकता : गृहमन्त्री लेखक [भिडियो]
आमाको नामबाट नागरिकता दिने विधेयक ल्याइयो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
726
Shares
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानको कार्यान्वयनका लागि नीतिगत र कानूनी सुधार गर्नु सरकारको प्राथमिकता रहेको बताएका छन्। उनले बुधवार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक माथि उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले संविधानको कार्यान्वयन, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारले नयाँ कानून निर्माण तथा पुराना विधेयकहरूलाई पूर्णता दिन सक्रियताका साथ काम गरिरहेको बताए।
उनले आमाको नामबाट नागरिकता दिने उद्देश्यका लागि यो विधेयक ल्याइएको स्पष्ट पारे। बाबु नभएको वा बाबुले अपनत्व नलिएको अवस्थामा सन्तानलाई आमाको नामबाटै वंशजको नागरिकता दिन सकिने व्यवस्था विधेयकमा गरिएको उनको भनाइ छ।
उनले भने, "यो विधेयकले नागरिकलाई सेवा प्रदान गर्ने र संवैधानिक हकको संरक्षण गर्ने विषयसँग जोडिएको छ। आमाको नामबाट पनि वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ, जुन हाम्रो लागि ठूलो सफलता हो।"
बाबु विदेशी भए पनि नेपाली आमाबाट जन्मिएको सन्तानलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था पनि विधेयकमा समावेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए।
नागरिकहरूलाई सेवाको पहुँच सहज बनाउन थप २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको पनि उनले बताए। विधेयक ऐनको रूप लिएपछि कोही पनि नागरिक नागरिकताविहीन भएर बस्नु नपर्ने उनको दाबी छ।