सगरमाथा सफाइमा ड्रोनको प्रयोग: एक हजार केजी फोहोर संकलनको लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
692
Shares
काठमाडौँ । नेपालको गौरव र पर्यटनको आधार मानिने सगरमाथामा बढ्दो फोहोरको समस्या समाधानका लागि ड्रोन प्रविधिको प्रयोग गरिएको छ। पछिल्ला वर्षहरूमा आरोहीहरूको संख्या बढ्दै जाँदा हिमालमा फोहोर थुप्रिएर वातावरणीय सन्तुलनमा गम्भीर चुनौती देखिएको छ। यसै समस्यालाई सम्बोधन गर्न बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीले सहकार्यमा फोहोर संकलन अभियान सुरु गरेका छन्।
साइमेक्स इंकले 'कूल द अर्थ बाइ वान डिग्री' नामक आफ्नो विश्वव्यापी अभियानअन्तर्गत सगरमाथा क्षेत्रबाट १ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य लिएको छ। एयरलिफ्ट टेक्नोलोजीले प्रयोग गरिरहेका ड्रोनहरू १५ मिटर प्रति सेकेन्डको गति र १५ डिग्री सेल्सियससम्मको चिसोमा पनि काम गर्न सक्षम छन्।
एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार, पहिले सगरमाथाको माथिल्लो क्षेत्रबाट आधार शिविरसम्म फोहोर ढुवानी गर्न ६ देखि ७ घण्टा लाग्ने गरेकोमा अहिले ड्रोनको प्रयोगले त्यो काम १ देखि २ मिनेटमै सम्भव भएको छ। यसले आरोही तथा मजदुरहरूको जोखिम पनि घटाएको छ। हाल ६,१३० मिटरको उचाइमा रहेको फोहोर ड्रोनमार्फत आधार शिविरमा ल्याउने काम भइरहेको छ। यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प-१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहोर संकलन गरिएको थियो।
नेपाल पर्वतारोहण संघका उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले सगरमाथामा फोहोर बढ्नुको मुख्य कारण आरोहीहरूले फोहोर छोड्ने प्रवृत्तिलाई बताएका छन्। उनले फोहोर संकलनमा ठूलो खर्च र जोखिम हुने भएकाले प्रविधिको प्रयोगले निकै सहज भएको उल्लेख गरे। उनले अब आरोहीहरूसँग फोहोर व्यवस्थापनका लागि निश्चित शुल्क नै लिनुपर्नेमा जोड दिए।
साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठका अनुसार, यो अभियान कम्पनीको सामाजिक उत्तरदायित्वको हिस्सा हो। उनले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको बताए। फोहोर संकलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जहरूमा पनि विस्तार गर्ने योजना रहेको पाण्डेले बताएका छन्।